प्रस, बर्दिबास, १२ वैशाख/
धनुषाको मिथिला नगरपालिकाका निवर्तमान नगरप्रमुख हरिनारायण महतोले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन्।
केन्द्रीय सदस्य एवं धनुषाको सहइन्चार्जसमेत रहेका महतोले आजैको मितिबाट साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरे। सोमवार नगरप्रमुख पदमा स्वतन्त्र मनोनयन दर्ता गरेपछि उनले एमालेले जनभावनाविपरीत जग्गा व्यापारीलाई टिकट दिएपछि स्वतन्त्र उम्मेदवारी दिएको बताए।
यसअघि एमालेबाट नगरप्रमुख बनेका महतोले यसपटक पार्टीले टिकट खोसेपछि पुनः नगरप्रमुख पदमा स्वतन्त्ररूपमा मनोनयन दर्ता गराएका हुन्।
बर्दिवास र गौशालाको प्रमुखमा माओवादीबाट खड्का र लामाको उम्मेदवारी
बर्दिबास नगरपालिकामा माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजु खड्का र गौशाला नगरपालिकामा विष्णु लामाले उम्मेदवारी दर्ता गराएका छन्।
बर्दिबासमा माओवादी केन्द्रबाट राजु खड्का, प्रकाश पोखरेल, विदुर कार्की, राजन ढुङ्गाना, शङ्कर महतो, रुद्र सुस्लिङले दाबी गरेका थिए भने गौशालामा विष्णु लामा, विजय साह, शिवनाथ महतोले दाबी गरेका थिए।