प्रस, जनकपुर, १२ वैशाख/
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा नेपाली काङ्ग्रेसले नगरप्रमुखको लागि दुईजनालाई टिकट दिएको समाचार छ। प्रह्लादकुमार क्षत्रीलाई टिकट दिएको दुर्ई घण्टा नबित्दै चिरञ्जीवी हमालले पनि टिकट पाएको बताइएको छ।
सोमवार बिहान क्षत्रीले प्रदेशबाट नगरप्रमुखको लागि टिकट लिएपछि सामाजिक सञ्जालमा शुभकामना लिंदै थिए तर चिरञ्जीवी हमालले टिकट पाएपछि उनको खुशीमा तुवाँलो लागेको छ।
चिरञ्जीवी हमाल मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा पुगेपछि त्यहाँ पहिलेदेखि पुगेका प्रह्लाद क्षत्री पक्षका नेता, कार्यकर्ता अचम्ममा परेका थिए। नेता हमालले भने– “कसले टिकट पायो मलाई थाहा छैन, तर म मनोनयन दर्ता गर्न जाँदैछु।”
यता, नेपाली काङ्ग्रेस महोत्तरीले कसको टिकट आधिकारिक हो भन्ने विषयमा जाँचबुझ गर्ने बताएको छ।