राधेश्याम पटेल, परवानीपुर, ९ वैशाख/

मधेस आन्दोलनपछि भएको पहिलो स्थानीय तहको चुनावमा वीरगंजसँगै मधेसभरि नै गाली खाएको दल हो, केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले । त्यति बेला ओली र उनको दललाई मधेसविरोधी शक्ति भनेर चित्रण गरिएको थियो । जसका कारण मधेश प्रदेशभरि नै एमालेको नतीजा सबैभन्दा कमजोर आएको थियो । तर आगामी दोस्रो स्थानीय तहको चुनावमा ओलीको एमाले मधेसमा सशक्त दलको रूपमा सहभागिता जनाउँदैछ । मधेस आन्दोलनपछि मधेसी दलहरूले देखाएको व्यवहार र उनीहरूले मधेसी जनताको भावनालाई बुझ्न नसक्नु नै मधेसमा एमालेको उपस्थिति बलियो हुँदै गयो । त्यस्तै, गठबन्धनमा सामेल नेपाली काङ्ग्रेस गुट–उपगुटमा विभाजित दलको रूपमा चिनिन्छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मधेसमा जसरी राजनीतिक पकड बनाउनुपथ्र्यो, त्यसरी गर्न नसकेको गठबन्धनका केन्द्रीय नेताहरूले राम्ररी बुझेका छन् । त्यसैको नतीजा हो कि स्थानीय चुनावमा एमालेलाई पराजित गर्न गठबन्धनले सहकार्य गरी उम्मेदवार उठाउने दिशामा अग्रसर देखिएको हो ।

मधेसमा एमालेप्रति देखिएको लहरले पनि गठबन्धनका नेताहरू झस्केका छन् । वीरगंजमा मधेसवादी दल जनता समाजवादी पार्टीबाट निर्वाचित नगरप्रमुख विजयकुमार सरावगी एमाले प्रवेश गरेसँगै गठबन्धनमैं हेभिवेट उम्मेदवारको खोजी शुरू भएको छ ।

अहिले वीरगंजमा गठबन्धनको तर्फबाट जसपाका राजेशमान सिंह र एमालेका सरावगीबीच नै मुख्य प्रतिस्पर्धा हुने लगभग निश्चित भइसकेको अवस्थामा वीरगंजमा कुन आधारमा एमाले मजबूत छ भन्ने केही तथ्यहरूले पुष्टि गर्छन् । वीरगंजमा अहिले एक लाख २४ हजार ६४७ जना मतदाता छन् । जसमा पुरुष ७० हजार ८१० र महिला ५३ हजार ८३३ जना छन् । गत चुनावमा कुल मतदाता सङ्ख्यामध्ये ६३ प्रतिशतले मत हालेको थियो । यसपालि पनि सोही हाराहारीमा मत खस्ने अनुमान गरिएको छ ।

गत चुनावमा तत्कालीन मधेसी जनअधिकार फोरका (अहिले जसपा)का सरावगीले १९ हजार ३९२, काङ्ग्रेसका अजयकुमार द्विवेदीले १७ हजार १९७, विजयकुमार गच्छदारको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले आठ हजार ७०९, एमालेका बसरुद्दीन अन्सारीले आठ हजार ६८८, माओवादीका रहबर अन्सारीले आठ हजार ३०५ र राजपाका राजेशमानले १२ हजार १६५ मत ल्याएका थिए ।

अहिले राजेशमान जसपामा गएका छन् भने तत्कालीन मधेसी जनअधिकार फोरमबाट सङ्घीय सांसद बनेका श्रीवास्तव अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा छन् । तत्कालीन मजफो, राजपासहित केही मधेसी दल मिलेर बनेको जनता समाजवादी पार्टीबाट  सांसद रहेका उनी जसपा फुटेर बनेको लोसपाबाट सांसद छन् ।

यसपटकको स्थानीय चुनावमा महानगरको कुल मतदाता सङ्ख्यामध्ये ६३ प्रतिशत मत खस्यो भने त्यो सङ्ख्या ७८ हजार ५२७ हुनेछ । जसमा नगरप्रमुखका लागि दुईजना मात्र प्रमुख उम्मेदवार भए जीतका लागि कम्तीमा ४० हजार मत आवश्यक हुन्छ । गत चुनावमा तत्कालीन मजफोबाट निर्वाचित नगरप्रमुख सरावगीले प्राप्त गरेको मत सङ्ख्या १९ हजार ३९२ थियो । त्यति बेला मधेस आन्दोलनको उपलब्धिले काम गरेको थियो ।

नगरप्रमुख सरावगीले दल बदलेको कारण उक्त मतबाट पनि केही व्यक्तिगत मत आउने अनुमान गरिएको छ । पछिल्लो पाँच वर्षमा आफूले बनाएका विश्वासिला कार्यकर्ताहरूले आफूलाई नै सघाउने विश्वास उनको छ । जसपाबाट चुनाव लड्दा पाएको कुल मतको करीब ४० प्रतिशत मत आफूले पाउने दाबी गर्छन् । त्यसैगरी, नगरप्रमुखले पार्टी परिवर्तन गरेसँगै वीरगंज वडा नं २१, २५, १४ र २८ का वडाध्यक्षहरू पनि जसपा छाडेर एमालेमा प्रवेश गरेका छन् । ३२ वटा वडा रहेको वीरगंज महानगरमा गत चुनावमा एमालेले वडा नं ५, ८, ११, २३, २७ र ३० मा चुनाव जितेको थियो । त्यसैगरी, एमालेले गत चुनावमा वडा नं १३ मा आठ मतले र वडा नं २० मा एक मतले हार बेहोरेको थियो ।

वडा नं ४, १२, १७ मा एमाले दोस्रो स्थानमा आएको एमाले, पर्साका इन्चार्ज प्रभु हजारा बताउँछन् । थोरै मतले हारेको वडामा जनाधार तयार पारिसकेको र ती वडामा पनि एमाले बलियो अवस्थामा रहेको इन्चार्ज हजराको दाबी छ । त्यसैगरी, गत चुनावमा वडा नं १, २४ मा पनि प्रतिस्पर्धामा एमाले थियो । एमालेले काङ्ग्रेसबाट निर्वाचित वडा नं २१ का अध्यक्ष हबिब मियाँलाई आफनो दलमा भिœयाइसकेको छ । यसरी हेर्दा ३२ वटा वडामध्ये १३ वटा वडामा एमालेको पकड मजबूत भएको छ । ३२ वटा वडामा प्रतिवडा औसत चार हजार मत छ । महानगरको पुरानो १६ वटा वडामा मतदाता सङ्ख्या बढी र थप गरिएका ग्रामीण भेगका १६ वटा वडामा मतदाता सङ्ख्या कम छ ।

गठबन्धनबाट असन्तुष्टलाई फकाउने दाउमा एमाले

नेकपा एमाले वीरगंजमा मजबूत अवस्थामा देखिए तापनि जीतको बाटोमा गठबन्धनका मुख्य चार दलका प्रतिनिधित्व नै तनावको विषय बनेको छ । त्यसैको नतीजा हो, उम्मेदवार मनोनयनको पूर्वसन्ध्यामा एमालेले वीरगंजमा लोसपासँग गठबन्धन गरेर अघि बढेको छ । गठबन्धनले लोसपाको मतले पनि एमालेलाई फाइदा गर्ने अनुमान गरिएको छ । गठबन्धनले वीरगंजको नगरप्रमुख जसपालाई दिएपछि नेपाली काङ्ग्रेसका असन्तुष्ट नेता, कार्यकर्ताहरूलाई आन्तरिकरूपमा फकाएर एमालेले चुनावमा दाउ खेल्न सक्ने ठाउँ छ । जसले गर्दा गठबन्धन कमजोर पार्ने र एमालेलाई मजबूत पार्ने एमालेको अहिलेको नीति हुन सक्छ । त्यसको लागि एमालेले सबै प्रयास गर्ने  सो दलका नेताहरू बताउँछन् । नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ताले गठबन्धनले पार्टीलाई घाटा नभई अझै फाइदा पुगेको दाबी गर्छन । वीरगंज भनेको अहिलेको परिप्रेक्ष्यमा जसपा, काङ्ग्रेस र एमालेको पकड भएको पालिका हो, एमाले पहिलाभन्दा मजबूत भएर आएको छ । तर गठबन्धनको निर्णयले काङ्ग्रेसलगायत अन्य दलका नेता रुष्ट छन्, उनले भने, हामीले लोसपासँग मिलेर चुनाव लडिरहेका छौं, तर गठबन्धनले आफ्नै उम्मेदवारलाई घात गर्ने सम्भावना बढी छ । हामीले असन्तुष्ट नेताहरूलाई फकाउने प्रयास जारी राखेका छौं ।

यता, गठबन्धन दलका जिल्लाका मुख्य नेताहरूले अगामी चुनावमा गठबन्धन नै बलियो अवस्थामा रहेको आकलन गरेका छन् । उनीहरूले धेरै दलबाट धेरै उम्मेदवार चुनाव उठ्दा गठबन्धन कमजोर पर्ने र एमालेले चुनाव जित्ने कुरालाई मध्यनजर गर्दै  गठबन्धनले साझा उम्मेदवार तय गरेको बताए ।

त्यसैले स्थानीय चुनाव एमालेलाई भारी पर्ने उनीहरूको ठम्याइ छ । गठबन्धनका एकजना नेता गठबन्धन दलका नेता, कार्यकर्ताहरूले घात नगरे स्थानीय चुनावमा एमालेलाई भारी मतान्तरले पराजित गर्ने दाबी गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here