प्रस, वीरगंज, ७ वैशाख/
आसन्न स्थानीय तहको चुनावमा मधेस प्रदेशको एक मात्र महानगर वीरगंजमा नेकपा एमाले र लोसपाबीच हाल तालमेल गर्ने सहमति भएको छैन । सहमतिको प्रयास भइरहेको नेताहरूले बताएका छन् । केही सञ्चार माध्यममा तालमेल भएको खबरको सम्बन्धमा स्पष्टीकरण दिंदै दुवै दल एमाले र लोसपाका जिल्ला तहका नेताहरूले सहमति नभएको स्पष्ट पारेका छन् । एमाले पर्साका नेता तथा केन्द्रीय सदस्य राजकुमार गुप्ताले तालमेलबारे सहमति गर्ने प्रयास अनौपचारिक प्रयास मात्र भएको बताएका छन् ।
“वीरगंज महानगरमा मात्रै तालमेल गर्ने छलफल भएको हो, अहिले नै तालमेलको सहमित भएको होइन”–उनले भने–“अहिले अनौपचारिक कुरा मात्रै भएको छ, औपचारिक बनाउन न बैठक बस्न सकेको छ, न छलफल हुन सकेको छ ।” एमालेकै केन्द्रीय सदस्य अरविन्द सिंहले महानगरको मेयर र उपमेयरमा तालमेल गरी अघि बढने मौखिक सहमति भएको तर औपचारिक सहमति हुन बाँकी रहेको बताए । उनले सम्भवतः बुधवार रातिसम्म तालमेल गर्ने कि नगर्ने टुङ्गो लाग्ने बताए । उनले एमाले र लोसपाका जिल्ला र प्रदेश कमिटीका नेताहरू जनकपुरबाट राति वीरगंज फर्किरहेको र भोलि औपचारिक बैठक बस्ने सल्लाह भएको जानकारीसमेत गराए ।
एमालेले वीरगंज महानगरमा मेयरमा विजयकुमार सरावगीलाई अघि सार्ने र लोसपाबाट उपमेयरमा मात्र तालमेल गर्न खोजेको छ ।
वडा स्तरमा छुट्टाछुट्टै चुनावमा भाग लिने एमालेको तयारी छ । एमालेका नेता तथा संविधानसभा सदस्यसमेत रहेका नेता राजकुमार गुप्ताले भने–“हामीले उपमेयरमा तालमेल गरी लोसपाबाट कसलाई पठाउने भनेर निर्णय मागेका थियौं, तर अहिलेसम्म लोसपाले निर्णय गर्न सकेको छैन, लोसपामैं अहिले विवाद छ ।”
लोसपा नेता तथा प्रदेश सांसद रमेश कुर्मीले एमालेसँग लोसपाको तालमेलबारे खासै छलफल नभएको बताए । उनले तालमेलबारे सूचना भएको तर तालमेल नभएको स्पष्ट पार्दै तालमेल भयो भने पछि सबैलाई थाहा भइहाल्ने बताए ।
एमालेले उपमेयरमा लोसपाबाट उम्मेदवार मागेकोमा लोसपामा अहिले जिल्ला अध्यक्ष पुरुषोत्तम झा वा गत स्थानीय तहमा राजपाबाट उपमेयरमा चुनाव लडेकी रम्भा मिश्रमध्ये कसलाई पठाउनेबारे समझदारी हुन नसकेको लोसपाका नेताहरूले बताएका छन् ।