प्रस, वीरगंज, ७ वैशाख/

औषधी व्यवस्था विभाग शाखा कार्यालय वीरगंजमा कार्यरत कर्मचारीहरूले फार्मेसी अनुगमनको नाममा वीरगंज बजारमा आतङ्क मचाएको समाचार छ ।

देशकै प्रमुख बजारको रूपमा रहेको वीरगंजमा ठूला–ठूला औषधी उत्पादक, स्टकिस्ट तथा खुद्रा पसलहरूलाई छाडेर ससाना पसलहरूमा पुगी आतङ्क मचाएको जानकारी प्राप्त भएको छ । ठूल्ठूला अस्पतालमा रहेका औषधीहरूबाट मासिक अवैध रकम लिई छोडने तर ससाना पसलहरूमा पुगी कार्य प्रगति देखाउन झारा टार्ने काम भइरहेको औषधी पसललेहरूको आरोप छ ।

समाचार स्रोतका अनुसार बजार अनुगमन गर्न आवश्यक परेका औषधी सङ्घ, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत अन्य सरोकारवालाहरूको उपस्थिति चाहिन्छ । तर कार्यालयले सरोकारवालाहरूलाई खबरसमेत नदिई एक्लै अनुगमनमा जाने कारबाईको धम्की दिने प्रमाण भेटिएको छ । ससाना व्यापारीहरू केही कमाउन रक्सौल पुगी आफैं औषधी खरीद गरी ल्याएर बिक्री गर्दा नियमविपरीत भएको भन्दै वीरगंजका थोक बिक्रेताको  दबाबमा परी कारबाई गर्ने, रकम दिए छुट दिने कार्यलयकै कर्मचारीहरू स्वीकार गर्छन् ।

औषधी व्यवस्था विभाग वीरगंज शाखाका अन्तर्गत बारा, पर्सा रौतहट, मकवानपुर, चितवन, सर्लाही, धनुषा, सिन्धुली, महोत्तरी गरी ९ जिल्ला पर्दछ र कार्यालयलाई औषधी तथा औषधीजन्य वस्तुको अनुगमन गर्ने अधिकार छ ।

सो विषयमा जान्न खोज्दा कार्यालयका निमित्त प्रमुख मुकेन्द्र पंजियारले आफू आएको एक महीना मात्र भएको र पेन्डिगमा रहेका फाइलहरू अध्ययनपछि प्रमाण सबुतको आधारमा  ६ जनालाई कारबाईको सिफारिश गरेको बताए ।

प्रमुख पंजियारका अनुसार यस अघि अहिलेसम्म वीरगज शाखाले एउटा पनि पसललाई कारबाई नगरेको बताए । आफू सरुवा भई आएपछि  पर्सामा ३२, महोत्तरीमा १५, धनुषामा ३५, बारामा चार, रौतहट र सर्लाहीमा चार–चारवटा पसलको अनुगमन गरेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here