प्रस, वीरगंज, ५ वैशाख/
पर्सा जिल्लामा एक हजार दलित बालबालिका अहिले पनि विद्यालय जानबाट वञ्चित छन् । पिस फर नेपाल दलित, पर्साका अध्यक्ष मनोज रामले जिल्लामा रहेका करीब १० हजार दलित बालबालिका अहिले विद्यालयमा अध्ययनरत रहेका तर एक हजार बालबालिका विद्यालय जानबाट वञ्चित भएको बताए ।
उनले पिस फर दलित फाउन्डेशन, पर्साले विद्यार्थी भर्नाको लागि आगामी जेठ १५ गतेदेखि तीस दिने अभियान सञ्चालन गर्ने र विद्यालयबाहिर रहेका दलित बालबालिकालाई विद्यालयमा भर्ना गराउने अभियान शुरू गर्ने बताए । उनले यसका लागि अहिलेदेखि तयारी शुरू भएको जानकारी गराए ।
अध्यक्ष रामले पर्सा जिल्लामा भर्ना हुने दलित विद्यार्थीमध्ये १० प्रतिशत मात्र विद्यालयमा टिक्ने हुँदा एसइईसम्म नगन्यरूपमा उनीहरूको प्रतिनिधित्व हुने गरेको बताए । आर्थिक समस्या र परिवारका सदस्यहरू शिक्षित नभएका कारण दलित बालबालिकाका अभिभावकहरूले ५–७ कक्ष्Fामा अध्ययन रहँदैको अवस्थामा बालबालिकाहरूलाई विद्यालयबाट निकालेर रोजगारमा संलग्न गराउने गरेको बताए । उनले अहिलेसम्मको तथ्याङ्क अनुसार ५० जना विद्यार्थी भर्ना हुने गरेकामा पाँचदेखि सात कक्षासम्म १० प्रतिशत मात्र टिकाउ हुने र एसइई परीक्षा दिने क्रममा एक/दुई जनाभन्दा बढी नहुने गरेको बताए । अध्यक्ष रामले एसइई दिने एक/दुई जना पनि कम ग्रेडमा उत्तीर्ण हुँदा छात्रवृत्तिको लागि उनीहरूको उपस्थिति कमजोर हुने गरेको बताए ।
सरकारले कक्षा १० सम्म सबै प्रकारले निश्शुल्क शिक्ष्Fाको व्यवस्था गरे पनि कापी, पेन, पोशाकलगायतका सामग्रीहरूको अभावमा दलित बालबालिकाहरूको शिक्षामा पहुँच बढ्न नसकेको उनले बताए । गत स्थानीय निर्वाचनपछि पालिकाहरू आर्थिकरूपमा सम्पन्न भएपनि उनीहरूले दलित बालबालिकाहरूलाई शिक्षातर्फ आकर्षित गर्ने कार्यक्रम नल्याएको उनको गुनासो छ ।
पर्सा जिल्लामा वीरगंज महानगर, पर्सागढी नगरपालिका, पकाहामैनपुर, सखुवाप्रसौनी, जीराभवानी, पटेर्वासुगौली, जगरनाथपुर गाउँपालिकामा दलितहरूको सङ्ख्या बढी छ । विन्ध्यवासिनीलगायत अन्य गापामा थोरै सङ्ख्यामा दलितहरूको बसोबास छ । स्थानीय पालिकाहरूले दलित बालबालिकाहरूको शिक्षामा पहुँच बढाउने कुनै पनि कार्यक्रम अगाडि नसारेको उनले बताए ।
पिस फर दलित नेपालले बालबालिकाहरूलाई विद्यालयमा टिकाइराख्न र शिक्षाको ज्योति पैmलाउन डेढ वर्षदेखि पर्सा जिल्लाका तीनवटा पालिकामा निश्शुल्क ट्युशन व्यवस्था गरेको छ । आर्थिक अभावले तीनवटा पालिकाका चार स्थानमा एक/एक जना शिक्षक राखेर निश्शुल्क ट्युशनको व्यवस्था गरिएको छ । एक स्थानमा ११० जनाभन्दा बढी दलित बालबालिकाहरू ट्युशन पढ्ने गर्छन् र उनीहरूलाई एकजना शिक्षक मात्र उपलब्ध छ ।
अध्यक्ष रामले आर्थिक अवस्थाले भ्याउने गरी एकजना मात्र शिक्षक नियुक्त गरिएको बताए । उनले बिहान र बेलुका दुई/दुई घण्टा सडकमा राखेर दलित बालबालिकाहरूलाई निश्शुल्क ट्युशन दिइरहेको जानकारी गराए ।
सखुवाप्रसौनी गापा–३ कौवा वनकटैया, वडा नं ५ महुवन, जीराभवानी गापा–४ सुपौली र वीरगंज महानगरपालिका–१९ केहुनियामा दलित बालबालिकाहरूलाई निश्शुल्क ट्युशन दिइरहेको उनले बताए ।