सुग्रीव साह, भिस्वा, ४ वैशाख/
छिपहरमाई गाउँपालिकाको भिस्वामा पाँच कठ्ठामा लगाइएको गहुँखेतीमा आगलागी भएको छ । गहुँ कटान गरेपछि छ्वालीमा आगो लगाउने क्रममा राधासाह कानूको पाँच कठ्ठा गहुँ जलेर नष्ट भएको हो ।
छ्वालीमा आगो लगाउने किसानले अव्यवस्थित तरीकाले आगो लगाएका कारण छ्वालीको आगोबाट कानूको पाँच कठ्ठा गहुँ जलेर नष्ट भएको हो । अहिले गहुँखेती गर्नेहरूले धान रोप्नको लागि गहुँ काटेपछि छ्वालीमा आगो लगाइरहेका छन् । आगो लगाउने क्रममा किसानहरू गैरजिम्मेवार हुँदा यस्ता घटना प्रायः हुने गरेको छ ।
यसैगरी बारामा एकै दिन चार स्थानमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका, कलैया उपमनपा र देवताल गापामा गरी एकै दिन चार स्थानमा आगलागी भएको छ ।
आगलागीबाट ३० लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । जीतपुरसिमरा उपमनपा–१ पथलैया बस्ने शारदादेवी क्षत्रीको जग्गामा हाइवा इनफाटेट प्रालिले बिजुलीको सामान भाडामा राखेकोमा मञ्जु भट्टराईको करेसाबारीमा फोहोर जलाउने क्रममा आगलागी भएको र करीब बीस लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
महागढीमाई नपा–१ बरियारपुरका भोला चुडिहारले गँहुको ठूटो (छ्वाली) जलाउने क्रममा आगलागी हुँदा सातजना छिमेकीको गहुँ बाली नष्ट भएको र डेढ लाख क्षति भएको छ ।
कलैया उपमनपा–१२ शीतलपुरमा पनि सोनालाल यादवले गँहुको छ्वालीमा आगो लगाउँदा आगो सल्किएर रसुला आलम, भास्करप्रसाद साह र मकसुद अंसारीले सञ्चालन गरेको बारा पोल्ट्री फर्ममा आगलागी भएको थियो । आगलागीमा करीब ५ लाखको क्षति भएको बताइएको छ ।
देवताल गापा–७ पिपरपाती बस्ने विजय यादवले छ्वाली जलाउने क्रममा आगो सल्किंदा दिनानाथ यादवको एक बिघा खेतको गहुँ जलेर नष्ट भएको बारा प्रहरीले जनाएको छ ।