प्रस, परवानीपुर, ३ वैशाख/
रूँगटा वेलफेयर सोसाइटी, वीरगंजको आयोजनामा नौ दिने श्रीराम कथा प्रवचन शुरू भएको छ । नगर सभागृहमा आयोजित कार्यक्रममा भारतीय सन्त विजय कौशलजी महाराजको समूहले श्रीराम कथा वाचन तथा प्रवचन गरिरहेको छ ।
अप्रिल १२ देखि २० तारिखसम्म चल्ने प्रवचन कार्यक्रम अपराह्न ४ देखि साँझ ७ बजेसम्म आयोजना भइरहेको छ । प्रवचन समारोहको उद्घाटन मधेस प्रदेशका खानेपानी तथा ऊर्जा मन्त्री ओमप्रकाश शर्माले गरेका थिए ।
वृन्दावन निवासी सन्त कौशलजी महाराज यसअघि पाँच वर्ष पहिला सन् २०१७ मा वीरगंजमा रूँगटा वेलफेयर सोसाइटीकै आयोजनामा अदर्शनगरमा भएको कथा प्रवचन कार्यक्रमको लागि आएका थिए ।
त्यसैगरी, २० वर्षअघि पनि उनी नेपाल आएका थिए । कौशलजीले पुरानो सम्बन्धको अधारमा यस वर्ष प्रवचनको लागि समय दिएको आयोजक संस्थाका सुरेश रूँगटा बताउँछन् । उनको कथा प्रवचनमा दैनिक ७–८ सयजना श्रद्धालु भक्तजनको सहभागिता हुने गरेको रूँगटाले बताए ।
कथा प्रवचनपश्चात् दैनिक प्रसाद वितरण पनि भइरहेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष मुरलीधर रूँगटा, वीरगंजका प्रमुख विजयकुमार सरावगी, वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष हरि गौतमलगायतको सहभागिता थियो ।