प्रस, वीरगंज, २ वैशाख/
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले नेपालको पुनर्संरचना राज्यको आधारमा नभई भूगोलको आधारमा भएको बताएका छन् ।
शुक्रवार वीरगंजमा पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष त्रिपाठीले राज्यका सबै अङ्ग अहिले पनि सङ्घकै नियन्त्रणमा रहेको बताए । उनले राज्य संरचना अहिले पनि यथावत् रहेको बताए ।
अध्यक्ष त्रिपाठीले मधेसको मुद्दा राष्ट्रिय मुद्दा नबनेसम्म मधेसको समस्या समाधान नहुने बताए । मधेसका नेताहरूले जातिवादको मुद्दा बनाएको कारण नेपालमा विभेद बढ्दै गइरहेको उनको दाबी थियो । मधेसी दलहरू हिजोसम्म उकालो चढ्दै थिए तर अहिले ओरालो लागिरहेकोले प्रगतिशील पार्टीले मात्र नेपालको उत्थान गर्न सक्ने उनको तर्क थियो । स्थानीय तहमा धेरै अधिकार दिइएको कारण बेथितिसँगै भ्रष्टाचार पनि बढ्दै गएको उनको भनाइ थियो । सङ्घ, प्रदेश तथा स्थानीय तहहरूमा महालेखा परीक्षकको कार्यालयले परीक्षण गर्दै आएकोमा स्थानीय तहको लेखाजोखा संसद् मातहत रहेको लेखा समितिसँग छलफल नगराएको कारण सबै स्थानीय तहमा बेरूजु बढ्दै गइरहेको उनको भनाइ थियो ।
अध्यक्ष त्रिपाठीले सरकारले स्थानीय तह चुनाव घोषणा गरेपछि नेताभन्दा बढी अन्य क्षेत्रबाट आएका ठगहरूको राजनीतिमा बिगबिगी भएको बताए । निर्वाचन प्रणाली नसुध्रिएसम्म देशमा गैरराजनीतिकर्मीहरूको सबै तहमा सहभागिता बढ्दै जाने उनले दाबी गरे ।
नेता त्रिपाठीले विजय सरावगीले चुनाव केको लागि लड्दै छन् सबैलाई थाहा भएको बताए । सरावगीले राजनीतिलाई व्यापार बनाई घाटा– नाफाको मूल्याङ्कन गर्ने गरेको बताए । दुई महीना अघि जन्मिएको जनता प्रगतिशील पार्टीले विचारको राजनीति गर्दै वैचारिक बहसलाई अगाडि बढाएको बताए । उनले नेपालमा रहेका सबै पार्टी अहिले आफ्नो विचार नै बदलेको अवस्थामा यो पार्टी सफल हुने दाबी गरे ।
जिल्ला अध्यक्ष प्रह्लाद राय योगीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिवजी यादव, साबिर हुसेन, महामन्त्री रामविलास दास, केन्द्रीय सदस्य श्रीमन्नारायणलगायतले मन्तव्य व्यक्त गरेका थिए ।