प्रस, सेढवा २ वैशाख/
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टाइफाइड रोगविरुद्ध खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप शुरूआतसम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रवार जगरनाथपुर गाउँपालिकामा सम्पन्न भएको छ ।
गापा अध्यक्ष जालीम मियाँको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई वैशाख ७ देखि १२ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य शाखाका प्रमुख परमेन्द्रकुमार साहले बताए । उनले पालिकाका विद्यालयका ७ हजार १३२ विद्यार्थी र विद्यालयबाहिर रहेका ६ हजार ७६१ गरी १३ हजार ८ सय ९३ जना बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइने जानकारी गराए । साहले १५ महीनादेखि १५ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकाहरूलाई यो खोप लगाइने जानकारी गराए ।
यसका लागि पहिले विद्यालयमा खोप केन्द्र राखिने र पछि समुदायमा खोप केन्द्र राखी खोप लगाइने जनाए । अभियानका लागि ७५ वटा खोप टोली र ४८ वटा खोप केन्द्र तोकिएको प्रमुख साहले बताए । अभियानपछि प्रत्येक स्वास्थ्य चौकीमा १५ महीना पुगेका बालबालिकाहरूलाई यो खोप नियमित सञ्चालन गरिने जनाएका छन् ।