प्रस, वीरगंज, ३० चैत/

स्थानीय चुनावमा जनप्रतिनिधिहरू व्यस्त भएको मौका छोपी पर्सा जिल्लाको धोबिनी गाउँपालिका कर्मचारीहरूले नियम मिचेर विभिन्न योजनाको रकम खर्चिरहेको समाचार प्राप्त भएको छ ।

जनप्रतिनिधिहरू चुनाव प्रचारका लागि घरदैलो तथा भेटघाटमा व्यस्त रहेका बेला सो गापाका कर्मचारीहरू रकम बाँडफाँडमा भागबन्डा मिलाएको पाइएको छ । नेपाल सरकारले बहुक्षेत्रीय पोषण सुधारका लागि विपन्न, महिलालाई आयआर्जनका लागि पठाएको १० लाख रुपैयाँ अनधिकृतरूपमा प्रमुख कार्यकारी अधिकृत जयचन्द्र साहले कर्मचारी प्रदीप गुप्तालाई खर्च गर्न पेश्की दिएपछि कर्मचारीहरूबीच मनमुटाव शुरू भएको हो ।

यो गापामा पहिलादेखि सरकारले प्रदीपकुमार रामलाई पोषण कार्यक्रम हेर्न फोकल पर्सनको रूपमा पठाएको छ । फोकल पर्सन रामले चालू आवको लागि पोषणसम्बन्धी कार्ययोजना गापाको बोर्डबाट स्वीकृतसमेत गराएका छन् । तर सो काम हेर्न कर्मचारीलाई बाइपास गरी गुप्तालाई सो शीर्षकमा रकम दिएकोमा कर्मचारीहरूको गुनासो छ ।

गत आवमा पनि यस्तै एक सहकारीको खातामा रकम पठाइ कर्मचारीहरूले अनियमितता गरेको केही दिनपछि सार्वजनिक भएको थियो ।

यस वर्ष पनि प्रमुख कार्यकारी अधिकृत साहले आफूनजीकका कर्मचारी गुप्तालाई सो काम गर्न शतप्रतिशत पेश्की दिएका छन् । पोषणसम्बन्धी आयमूलक कार्यक्रम सञ्चालन कार्यविधि–२०७७ अनुसार फोकल पर्सनमार्फत नै कार्ययोजना अनुसार काम गर्ने गराउने स्पष्ट
छ ।

यस विषयमा कार्यकारी अधिकृत साहसँग बुझ्दा उनले एकमुस्ट अनुदानको रकम रहेको र कोही लिन नआएपछि कर्मचारीलाई पेश्की दिई खर्च गरेको बताए । धोबिनी गापाले यसरी खर्च गरे पनि अन्य पालिकाहरूले भने सार्वजनिक सूचना प्रकाशित गरेर यस शीर्षकको रकम खर्च गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here