• राजेश मिश्र

अहिले गल्ली–गल्लीमा मत माग्नेहरूकोे भीड छ । यसैगरी, आफतमा परेका बेला असहायहरूको घरदैलोमा पुगेर अपनत्व देखाएको भए शायद मतदाताहरूले त्यस्ता नेताको घरमा पुगेर भन्थे, “मेरो मत तपाईंलाई ।” तर अपवादबाहेक ओहोदाधारीलगायत विपक्षीहरूले समेत कोरोनाकाललाई धन कमाउने मौकाको रूपमा लिए । लोकतन्त्रका स्तम्भहरूमध्ये विपक्षी पनि एक हो । यद्यपि विपक्षीहरूको हबिगत पनि प्रशंसायोग्य थिएन । ‘बाँडीचुँडी खाउँ’को संस्कार विद्यमान रह्यो । स्याबासीका पात्र केही सामाजिक संस्थाहरू थिए, जो असहायहरूलाई निश्शुल्क भोजन वितरण गरिरहेका थिए । सधैं पैसावालको छत्रछाया बन्ने सत्ताका आकाङ्क्षीहरूको नजरमा आज मतदाताहरू महŒवपूर्ण देखिंदैछन् । कोरोनाकालमा समस्याग्रस्त मजदूरहरू सङ्क्रमणको ओरालोसँगै कर्मथलो फर्किन थालेपछि अपवादबाहेक अहिले गाउँहरू रित्ता छन् । अहिले गाउँको सडक तथा गल्ली हुँदै दलबलसहित उम्मेदवारहरूको टोली मतदाताहरूको घरघरमा पुग्ने क्रम जारी छ ।

कोरोनाकालताका परदेशबाट घर फर्किएका मजदूरहरू महीनौंसम्म घरमैं थन्किन बाध्य थिए । त्यति बेला मजदूरी ठप्प थियो नै, परदेशमा ज्यान पनि सुरक्षित थिएन । गाउँमा थन्किएका ती मानिसहरूको पेटले खाना मागिरहेको थियो । उता कोराना सङ्क्रमणबाट जोगिने मापदण्ड छँदै थियो । के गर्ने ? कसरी गर्ने ? कहाँ कमाउने ? र के खाने ? जस्ता प्रश्नहरूको भरपर्दो उत्तर दिने अपवादबाहेक कोही थिएन । चुनाव नजीकिंदै जाँदा मतदाताहरूलाई लोभ्याउने प्रकृतिका विभिन्न आचरणहरू अहिले छताछुल्ल छन् ।

०००

मतको आकाङ्क्षी एकजना दौडाहामा थिए । जिन्दाबादको नारा घन्किरहेको थियो । बीचबीचमा ‘जितेगा भाइ जितेगा…’ ठूलो स्वरमा नेताको नाम र चुनाव चिह्न उच्चारण भइरहेको थियो । अघिअघि नेता र पछिपछि कार्यकर्ता तथा आफन्तहरू उफ्रिउफ्री नारा लगाइरहेका थिए । मानवीय पदचापले आज गाउँका ती साँघुरा गल्लीहरू कम आश्चर्यचकित थिएनन् । एकाध सम्पन्न व्यक्तिबाहेक उक्त गाउँमा प्रायः मजदूरीमा आश्रित मतदाताहरूको बाहुल्यता थियो । दलबलसहित मतदाताहरूको द्वारमा पुगेपछि कार्यकर्ताहरूले आवाज लगाउँथे, “के बा घरे ? आइँ, नेताजी आइल बानी, भेंट करे ।” अर्थात् “घरमा को हुनुहुन्छ ? बाहिर आउनुस्, नेताजी आउनुभएको छ, भेंट्न ।” प्रायःजसो घरमा वृद्धवृद्धा, महिला तथा बालबालिकहरू मात्र भेटिन्थे । किनभने युवा जाँगर काम गर्न वा कामको खोजीमा देश र परदेशमा गइसकेका हुन्छन् ।

जुन मतदाताको द्वारमा नेताजी उभिरहेका थिए, त्यस घरको वृद्ध मजदूरी गर्न गइसकेका थिए । द्वारमा बच्चाहरू खलिरहेका थिए । बच्चाहरूको ध्यान भीडतर्फ थिएन भन्ने होइन । आज उनीहरूले आफ्नो द्वारमा मानिसहरूको भीड देखेर अचम्मित थिए । नादमा बाँधिएका मवेशीहरू पनि उत्तिकै आश्चर्यचकित थिए । शायद उनीहरू मानिसहरूको यतिविघ्न भीड हुँदाहुँदै पनि नादमा आहारा हालिदिने कोही नभएर बढी चकित थिए । नादमा आहारा सकिसकेको थियो । किनभने मानिसहरूको भीडका कारण महिलाहरूलाई बाहिर निस्कन अप्ठ्यारो परेको थियो । शायद मवेशीहरू भीडमध्ये कसैले नादमा आहारा हालिदेला भन्ने ध्याउन्नमा थिए । भोकले मवेशीहरू बाँ–बाँ गर्दै क्रन्दन गरिरहेका थिए ।

भीडमध्येबाट एकजनाले बच्चाहरूसँग सोध्यो, “बबुवा एही घर के लइका हउव लोगन का ?” अनजान मानिसहरूलाई देखेर होला बच्चाहरू दगुर्दै घरभित्र छिरे । ढोकाको सानो छिद्रबाट बाहिरको गतिविधि नियालिरहेका आमा र हजुरआमासँग बच्चाहरूको ढोकामैं जम्काभेंट भयो । स्वाँस्वाँ गर्दै बच्चाहरूले एकै स्वरमा भन्न थाले, “ए माई १ ए इया १ हउ देख लोगन, दुवार पर केतना लोग आइल बा १” बच्चाहरूले के भनिरहेका छन् भन्दा पनि हजुरआमाको ध्यान भोकले छटपटिइरहेका मवेशीहरूको क्रन्दनतर्फ बढी केन्द्रित थियो । अन्ततः हजुरआमा बाहिर निस्किइन् । उनको ध्यान भीडतर्फ पटक्कै थिएन । उनी दुवै हातले छइटीमा लेदी हाल्दै घुम्टोको ओतबाट मवेशीहरूलाई हेरिइरहेकी थिइन् । उनलाई कति छिटो नादमा लेदी हालिदिउँ भन्ने चिन्ता थियो ।

वृद्धाको सोचाइभन्दा विपरीत अवस्था सृजना भयो । नेता तथा कार्यकर्ताहरूको गोल घेरामा उनी घेरिइन् । नेताले महिलाको खुट्टा ढोगे । वृद्धाको धूलाम्य पाउको धूलो मस्तकमा लगाउँदै बिन्तीभावमा नेताले भन्न थाले, “ए काकी, हमर चुनाव चिह्न देखी हइ हवे, एही में छाप मारे के बा, आ हमरा के जितावे के बा, बुझनीं ?” अर्थात् “काकी हजुर हेर्नुस्, यो हो मेरो चुनाव चिह्न, यसैमा छाप लगाउनु छ र मलाई विजयी बनाउनु छ, बुझ्नुभयो ?” लगायतका गरीबहरूको सपना साकार पार्ने प्रकृतिका प्रवचन दिन नेताले भ्याए । हजुरआमा ट्वाँ परिन् ।

ती नेता ‘मनमा राम राम, बगलीमा छुरी’ प्रकृतिको उदारता प्रदर्शन गर्न रतीभर पनि चुकेनन् । गरीबको ह्दयमा मनोवैज्ञानिक प्रभाव पर्ने युक्ति रचे । नेताले कार्यकर्ताहरूतर्फ हेर्दै नादमा लेदी र पानी हालिदिनका लागि ठूलो स्वरमा गर्जिए । एकजना कार्यकर्ता नेताको आदेश अनुसार नादमा पानी भर्न खट्यो । अर्कोले वृद्धाको हातबाट छैटी लिएर नादमा आहारा हाल्न थाल्यो । यससँगै नेताको नाम लिएर जिन्दाबादको नारा पुनः घन्कियो । गरीबको नेता भन्दै कार्यकर्ताहरू जोडजोडले आवाज लगाइरहेका थिए । हत्या, हिंसा तथा गरीबहरूलाई ऋण दिएर उनीहरूको उठीबास लगाउने जस्ता नेताका आचरण ओतमा पार्ने हरसम्भव प्रयास भइरहेको थियो । सामाजिक सेवामा शून्य संलग्नता रहेको ती नेता अहिले एकाएक सेवाभावमा लिप्त भएका थिए । 

०००

अहिले चारैतिर चुनावी वातावरण छ । आसन्न निर्वाचनका सम्भावित उम्मेदवारहरूलाई तनाव कम छैन भन्ने होइन । उनीहरूलाई पहिलो तनाव टिकट पाउने नै छ । दोस्रो, चुनावमा हुने आर्थिक खर्चको छ । मतदाताहरूमध्ये कोही धनी त कोही गरीब छन् । कोही हाकिम, त कोही कामदार छन् । यद्यपि मतको मूल्याङ्कन सबै एक समान छ । त्यसैले मतदाताहरूले आफ्नो शक्ति पहिचान गर्नुपर्छ । मतको शक्ति सदुपयोग गर्नु सबैको परम कर्तव्य हो । पाँच वर्षपछि पुनः आफ्नो सेवक छान्ने अवसर आएको छ । त्यसैले प्रत्येक मतदाताले आफ्नो मतको शक्ति बुझ्नु जरुरी छ । एक मतले राम्रो व्यक्तिले सेवक बन्ने अवसर गुमाउन सक्छ । त्यस्तै, एक मतको कारण दुर्जन प्रकृतिको व्यक्ति सत्तासीन हुन सक्छ । त्यस कारण उम्मेदवारहरूमध्ये राम्रो जनप्रतिनिधि छान्नेतर्फ मतदाताहरूको ध्यानाकर्षण हुनु अपरिहार्य छ । काका/काकी, दाइ/भाइ र दिदी/बहिनीको सम्बन्ध गाँस्दै चरण स्पर्श गरी आशीर्वादको रूपमा मत माग्ने व्यक्तिप्रति उदार हुनु आवश्यक छैन । सोचविचार गर्नुपर्छ । मत माग्ने व्यक्ति कस्तो प्रकृतिको छ ? उसको पृष्ठभूमि कस्तो छ ? आदि कुराहरू केलाउनुपर्छ ।

एकपटक माउतेले हात्तीलाई डोरीमा बाँधेर हात्तीको मनोविज्ञान जाँच्ने प्रयास ग¥यो । हात्ती सधैं फलामको सिक्रीमा बाँधिएको हुन्थ्यो । आज माउतेले हात्तीलाई डोरीले बाँध्यो । हात्तीको मनोविज्ञान आफू फलामको सिक्रीमा बाँधिएको भन्ने थियो । त्यस कारण फलामको मनोविज्ञानले ग्रसित हात्ती निरीह थियो । उसलाई आफ्नो शक्ति आफैंलाई थाहा थिएन । फलाम भाँच्न सक्ने हात्तीको शक्तिको अगाडि डोरीको कुनै हैसियत थिएन । यद्यपि उसले आफ्नो शक्तिको शून्य प्रयास पनि गरेन । हात्तीले आफ्नो शक्ति र सामथ्र्यलाई डोरीको बन्धनबाट मुक्त गर्न सकेन ।

उपरोक्त हात्तीको कथाझैं मतदाताहरूको अवस्था छ । मतदाताहरूभन्दा शक्तिसम्पन्न को छ ? आफैंसँग प्रश्न गरौं । माउतेरूपी सत्ताका आकाङ्क्षीहरूको अगाडि हात्तीरूपी शक्तिसम्पन्न मतदाताहरूले आफूलाई निरीह ठान्नु त्योभन्दा दुर्भाग्यपूर्ण अरू के हुन सक्छ ? परिवर्तनका संवाहक मतदाताहरू हुन् । माउतेरूपी सत्ताका ती आकाङ्क्षीहरू हुन्, जो हात्तीको शक्तिलाई नियन्त्रणमा लिएर आफूलाई सर्वशक्तिमान ठान्छन् । मतदाताहरू नकारात्मक मानसिकताको शिकार भएपछि अपेक्षाकृत प्रगतिको कल्पना गर्न सकिंदैन । केवल मत हाल्ने मानसिकतामा आफूलाई सीमित राख्ने हो भने सत्ताधारीहरूले माउतेझैं सधैं शासकका साथै धन कमाउने प्रवृत्तिमा लिप्त रहनेछन् । मतदाताहरू कसैका दास होइनन् । यद्यपि हामीले दासत्व स्वीकार गर्छौं भने मालिक कदापि बन्न सक्दैनौं । त्यस्ता व्यक्तित्वलाई मालिकत्व सुम्पौं, जसले देशको कायापलट गर्न सकोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here