प्रस, पोखरिया, २३ चैत/
पोखरिया जिल्ला अस्पतालमा रहेको प्रयोगशालामा केमिकल अभाव हुँदा पनि सरोकारवालाहरू मौन छन् ।
प्रयोगशालामा चार महीनादेखि विभिन्न केमिकलहरूको अभाव रहेको र सोबारे अस्पताल व्यवस्थापन समिति, पोखरिया नगरपालिका कार्यालयलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको मेसु डा सञ्जय गुप्ताले बताए ।
उनले प्रयोगशालामा केमिकल अभाव भएको र सबैखाले परीक्षणहरू चार महीनादेखि प्रभावित भएको भनी ध्यानाकर्षण गराउँदा पनि ‘हुन्छ… हुन्छ…’ भनेर अहिलेसम्म केमिकल उपलब्ध नगराइएको आरोप लगाए ।
पोखरिया जिल्ला अस्पतालमा दैनिक २५–३० जना बिरामी प्रयोगशालामा विभिन्न परीक्षण गराउन आउँछन् । पछिल्लो समयमा यो अस्पतालको प्रयोगशालामा जिल्लाकै उत्कृष्ट मेशिनहरू जडान गरिएका छन् ।
वीरगंजमा पनि सम्भव नहुने परीक्षणहरू पोखरियामा हुने गरेको मेसु डा गुप्ताले बताए ।