प्रस, वीरगंज, २३ चैत/

जिल्ला प्रहरी कार्यालय, पर्साले एकजना युवकलाई यातना दिएको आरोपमा दुईजना प्रहरीमाथि विभागीय कारबाही शुरू गरेको छ ।

पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले वीरगंज महानगर–९ बस्ने वर्ष २५ का विजय श्रेष्ठलाई प्रहरीको थुनामा चरम यातना दिएको पुष्टि भएपछि दुईजना प्रहरीमाथि कारबाही अघि बढाएको बताए ।

जिप्रका पर्सामा कार्यरत सादा पोशाकका प्रहरीद्वय लालबाबू साह र फिरोज अन्सारीले गत शनिवार राति श्रेष्ठलाई यातना दिएको कसूरमा विभागीय कारबाही अगाडि बढाइएको प्रवक्ता खनालले
बताए ।

गत शनिवार राति १० बजे घण्टाघर चोकमा श्रेष्ठलाई घुमुवा प्रहरीले नियन्त्रणमा लिएका थिए । उनीहरूले श्रेष्ठलाई जिप्रका पर्साको थुनुवा कक्षमा तातो पानी खन्याएर यातना दिएका थिए ।

प्रहरी यातनाबाट घाइते श्रेष्ठलाई भोलिपल्ट बिहानै वडाध्यक्ष मनोज कलवारको जिम्मा लगाएर छाडिएको थियो । प्रहरीले यातनापछि वडाध्यक्षलाई जिम्मा लगाउनुअघि युवकलाई तातो पानी खन्याएर घाइते हुने गरी यातना दिएकोबारे कसैलाई बताए लागूऔषध मुद्दामा फसाउने धम्की पनि दिएको पीडित युवकले बताएका छन् ।

घटनाबारे जिप्रका, पर्साका उच्च अधिकारीसमक्ष जानकारी पुगेपछि यसबारेमा सोधखोज शुरू भएको थियो । सो क्रममा प्रहरीले यातना पीडित युवक श्रेष्ठसँग बयान लिएको थियो र सो बयानमा दुईजना प्रहरीको नाम आएपछि उनीहरूविरुद्ध विभागीय कारबाई शुरू गरिएको प्रवक्ता खनालले बताए । युवकको बयानपछि प्रहरीले आन्तरिक अनुसन्धान अघि बढाएको थियो, जसमा दुवै प्रहरी दोषी पाइएपछि उनीहरूविरुद्ध विभागीय कारबाई अघि बढेको प्रवक्ता खनालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here