प्रस, वीरगंज, १९ चैत/

१२औं जीतपुरसिमरा गोल्डकपको उपाधि न्यूरोड टीम (एनआरटी)ले हात पारेको छ । सिमरा रङ्गशालामा शनिवार राति भएको फाइनल खेलमा विभागीय टीमलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै एनआरटीले उपाधि जितेको हो । एनआरटीलाई उपाधि दिलाउन  मेसुके ओलोमई र स्टेफन समीरले समान दुई/दुई गोल गरे भने दीपेश घलेले एक गोल गरेका थिए । एनआरटीका लागि यो उपाधि यस सिजनकै पहिलो हो । एनआरटीले प्रथमपटक जीतपुरसिमरा गोल्डकप विजेताको सूचीमा आफूलाई दर्ता गराएको छ ।

प्रतिस्पर्धात्मक पहिलो मध्यान्तरको अतिरिक्त समयमा गोलको खाता खोलेको एनआरटीले दोस्रो मध्यान्तरमा चार गोल थप्दै फराकिलो जीत हासिल गरेको हो । पहिलो मध्यान्तरमा थपिएको दुई मिनेट अतिरिक्त समयमा मेसुकेले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । दीपेश धिमालले विशाल घलानलाई लडाएपछि पाएको फ्रिकिकमा मेसुकेले गोल गरेका हुन् ।

एक गोलको अग्रतासँगै दोस्रो मध्यान्तर शुरू गरेको एनआरटीले खेलको ६०औं मिनेटमा दोस्रो थोल थप्यो । मेसुकेको क्रस बललाई सदुपयोग गर्दै दीपेश घलेले टीमका लागि दोस्रो गोल गरे ।

दोस्रोपटक फाइनलमा पुगेर उपविजेतामा सीमित हुन पुगेको एपिएफले सुरुआतदेखि आक्रामक खेल खेले पनि गोल गर्नमा चुकेको थियो । एपिएफ गोल गर्न चुक्दा एनआरटी खेलमा हाबी भएको हो । खेलमा दुई गोलले अग्रता लिएको एनआरटीले ७७औं मिनेटमा तेस्रो गोल गरेको थियो । एनआरटीका स्टेफन समीरले गोल गर्दै खेल ३–० को स्थितमा पु¥याएका थिए ।

 ‘ए’ डिभिजनका दुई टीमबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको थियो । तर एनआरटीले लगातार गोल गर्दै खेललाई एकल पक्षमा पारेको थियो । खेलको ८१औं मिनेटमा एनआरटीले चौथो गोल थप्दा एपिएफका समर्थक निराश भएका थिए । मेसुकेले टीमका चौथो र प्रतियोगितामा व्यक्तिगत पाँचौं गोल गरेका थिए ।

एकपछि अर्को अवसरलाई गोलमा परिणत गर्न सफल एनआरटीले खेलको ८९औं मिनेटमा पाँचौं गोल थप्यो । स्टेफन समीरले एनआरटीका लागि पाँचौं गोल गरेका थिए । समीरको गोलसँगै एपिएफ अन्तिम भिडन्तमा लज्जास्पद हार बेहोर्न बाध्य भयो ।

प्रतियोगिताको विजेता एनआरटीले १० लाख र ट्रफी प्राप्त ग¥यो भने उपविजेता एपिएफले पाँच लाख नगद र ट्रफी हात पारेको थियो । विजेता तथा उपविजेता टीमका खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका मेसुके घोषित भए । उनले बेनेली मोटरसाइकल प्राप्त गरे । प्रतियोगिताको विधागत पुरस्कारतर्फ पनि एनआरटी हाबी भयो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक एनआरटीका प्रदीप भण्डारी, उत्कृष्ट मिडफिल्डर एनआरटीका अशोक थापा, उत्कृष्ट फरवार्ड एनआरटीका स्टेफन समीर, उत्कृष्ट प्रशिक्षक एनआरटीका राजुकाजी शाक्य घोषित भए । प्रतियोगिताको उत्कृष्ट डिफेन्सको उपाधि एपिएफका राजन गुरुङले प्राप्त गरे भने प्रतियोगिता अवधिभरि छ गोल गरेका स्टेफन समीरले सर्वाधिक गोलकर्ताको पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको उदीयमान खेलाडी आयोजक नवजनजागृति युवा क्लबका सागर चौलागाईं घोषित भए । प्रतियोगिताको फेयर प्लेको उपाधि विजय युथ क्लब, हेटौंडाले प्राप्त ग¥यो । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टीलको मुख्य प्रायोजनमा चैत १० गते शुरू भएको प्रतियोगितामा ‘ए’ डिभिजनका पाँच र मोफसलका पाँच टीमको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here