होफेइ, १९ चैत/सिन्ह्वा
चीनका विदेशमन्त्री वाङ यी र म्यानमाका यु वुन्ना माउङ ल्विनबीच भेटवार्ता भएको छ । उनीहरूबीच चीनको तुन्छीमा शुक्रवार भेटवार्ता भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । दुई देशबीचको परम्परागत सम्बन्धलाई थप बलियो बनाउन भेटवार्ता उपलब्धिमूलक भएको उनीहरूको भनाइ छ ।
वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले म्यानमालाई विगतमा गर्दै आएको सहयोग वृद्धि गर्ने प्रतिबद्धता पनि जनाएका थिए । म्यानमामा गत वर्ष सेनाले सत्ता हातमा लिएपछि कतिपय देशले दिई आएको सहयोग कटौती गरे पनि चीनले भने बढाउँदै लगेको हो । सेनाले चालेको कदमको विश्वका धेरै देशले विरोध गरे पनि चीनले भने विरोध गरेको थिएन ।
बरु म्यानमाका लागि अत्यावश्यक पर्ने कतिपय सहयोग चीनले नै दिएर म्यानमाको सङ्कट टारेको थियो । चीनले म्यानमासँग विविध क्षेत्रमा सहकार्य र सहयोग बढाउन चाहेको पनि चिनियाँ विदेशमन्त्री यीले बताएका थिए । उनीहरूले कोरोना भाइरसको महामारीविरुद्धका सङ्घर्ष र आफूले गरेको प्रयासका बारेमा पनि अनुभव आदानप्रदान गरेका थिए । रासस