धर्मेन्द्र चौरसिया, पोखरिया, १८ चैत/
स्थानीय चुनाव घोषणा भएसँगै प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्य पदमा चुनाव लड्नेहरूको चर्चा शुरू भएको छ ।
अहिले चोक–चोक, चियापसल, कार्यालय र मानिस भेला भएर गफ गर्ने सबैखाले पसल, कार्यालयहरूमा चुनावकै चचर्F छ । को कुन पार्टीबाट उठ्ने, कसले कति पैसा खर्च गर्छ, कसले जित्छ, को हार्छ ? यस्तै चर्चा–परिचर्चा शुरू छ । स्थानीय चुनावकै सेरोफेरोमा पर्सा जिल्लाको चौधवटा पालिकामा उपप्रमुखका दाबेदारको सङ्ख्या पनि बढ्दो छ ।
वीरगंज महानगरपालिकाको उपप्रमुखमा विजयी नेपाली काङ्ग्रेसकी शान्ति कार्कीले पुनः उम्मेदवारी दिने घोषणा गरेकी छन् । यो पार्टीबाट किरण सरकार, भवानी घिमिरेको पनि दाबेदारी रहेको छ ।
गत स्थानीय चुनावमा कार्कीपछि दोस्रो स्थानमा आएकी पिङ्की यादव पनि जसपाबाट चुनाव लड्दै छिन् । यसैगरी, गत चुनावमा राजपाबाट पराजित रम्भा मिश्र यसपटक लोसपाबाट चुनाव लड्ने भएकी छन् । एमालेबाट पराजित सोफिया आचार्य नेकपा एकीकृत समाजवादी पार्टीमा लागेकोले उनको उम्मेदवारीको टुङ्गो छैन । एमाले र नेकपा माओवादी केन्द्रले वीरगंज महानगरमा उपप्रमुखको नाम चर्चामा ल्याउन सकेका छैनन् ।
पोखरिया नगरपालिकामा तत्कालीन मधेसी जन अधिकार फोरमबाट विजयी सलमा खातुन जनता समाजवादी पार्टीबाट चुनाव लड्ने भएकी छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट आशादेवी र नेपाल सुशासन पार्टीबाट वीणादेवीको नाम पोखरिया नपामा चर्चा छ ।
पर्सागढी नगरपालिकामा नेकाबाट विजयी अर्चना चौधरीसँगै सोही पार्टीकी जुनुमाया बलले पनि दाबेदारी गरेकी छन् । एमालेबाट पूजा चौधरी र जनता समाजवादी पार्टीबाट ममता यादवको नाम चर्चामा छ ।
ठोरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट विजयी शान्तिमाया थिड्ढो नाम पुनः चर्चामा छ । यसैगरी एमालेबाट गोकुली रेग्मीको दाबेदारी देखिएको छ । गत चुनावमा दुवैजना लडेका थिए ।
पटेर्वासुगौलीमा पनि उपप्रमुखका आकाङ्क्षीहरू बढी देखिएका छन् । नेकाबाट विजयी ममता महतोसँगै सोही पार्टीका आसमोहनीदेवीले दाबेदारी गरेकी छन् । यसैगरी नेपाल सुशासन पार्टीबाट कविता पञ्जियार र एमालेबाट मन्तुरा देवीको नाम चर्चामा छ ।
जीराभवानी गापाबाट एमालेबाट विजयी उषादेवी थरूनीको नाम चर्चामा छ भने नेकाबाट उपप्रमुखमा रेखा चौधरी, सरिता चौधरी र प्रतिमा खवासको नाम चर्चामा छ ।
यसबाहेक गत स्थानीय चुनावमा उपप्रमुखमा बहुदरमाई नपाबाट गायत्री देवी, विन्ध्यवासिनी गापाबाट किरण देवी, जगरनाथपुर गापाबाट बिस्मिल्लाह खातुन, पकाहामैनपुरबाट कुसुमीदेवी, धोबिनीबाट पारस पटेल, कालिकामाई गापाबाट राजेश चौरसिया, सखुवापरसौनीबाट फूलमतीदेवी चौधरी र छिपहरमाई गापाबाट मदिना खातुन निर्वाचित भएका थिए ।
यी पालिकाहरूमा पनि उपप्रमुखका लागि आकाङ्क्षीहरू बढिरहेका छन् ।