प्रस, वीरगंज, १८ चैत/
जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिवार विभागीय टोली नेपाल एपिएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दैछन् । सिमरा रङ्गशालामा हुने अन्तिम भिडन्तमा दुवै टोली उपाधि जित्ने दाउमा छन् । दुवै टोलीका लागि यो उपाधि महŒवपूर्ण छ ।
जारी सिजनमा एपिएफले दोस्रो उपाधि उचाल्न खोज्दा एनआरटी पहिलो उपाधि आफ्नो नाम लेखाउने रणनीतिमा छ । यस अघि माघमा सम्पन्न २० औं आहा रारा गोल्डकप फाइनलमा मनाङलाई टाइब्रेकरमा पराजित गर्दै एपिएफले सिजनको पहिलो उपाधि जितेको थियो ।
आहा राराबाहेक एपिएफको यो चौथो प्रतियोगिता हो । झापा र वाग्मतीमा भएको प्रतियोगितामा पराजित हुँदै एपिएफ जीतपुरसिमरा गोल्डकपको फाइनलसम्मको यात्रामा छ ।
एनआरटीले भने जारी सिजनमा खेलेको यो तेस्रो प्रतियोगिता हो । सिमरा आउनु अघि एनआरटीले सुदूरपश्चिम खप्तड गोल्डकप र वाग्मती गोल्डकपमा भाग लिएको थियो ।
दुवै प्रतियोगितामा एनआरटीका लागि वाग्मती बाधक बनेको थियो । वाग्मतीसँग दुईवटा प्रतियोगितामा पराजित हुँदै सिमरा आइपुगेको एनआरटी पहिलो खेलमा विजय युथ क्लब हेटौंडा र दोस्रो खेलमा आयोजक जनजागृति युवा क्लबलाई पन्छाउँदै उपाधि होडमा उभिएको हो ।
एपिएफले भने फाइनलको यात्रा तय गर्ने क्रममा हिमालयन शेर्पा क्लब र वाग्मती युवा क्लबलाई पराजित गरेको थियो । जीतपुरसिमरा गोल्डकप १२ औं संस्करणसम्म आइपुग्दा ११ वटा संस्करणमा भाग लिएको एपिएफले उपाधि उचाल्न सकेको छैन । दोस्रो संस्करणमा फाइलनमा पुगेको एपिएफ हिमालयन शेर्पासँग पराजित हुँदै उपविजेता बनेको थियो ।
एक संस्करणबाहेक अन्य ११ संस्करणमा निरन्तर सहभागी हुँदै आएको एपिएफका लागि जीतपुरसिमरा गोल्डकपको उपाधि महŒवपूर्ण छ । त्यसैले पनि एनआरटीलाई हराएर एपिएफ पहिलोपटक गोल्डकपको उपाधि उचाल्न चाहन्छ ।
एपिएफका प्रशिक्षक कुमार थापाले यसपटक जीतपुरसिमरा गोल्डकपमा आफ्नो नाम लेखाएर फर्कने बताए । लामो समयसम्मको सहभागितामा पनि उपाधि जित्न नसक्दा निराश रहेको भन्दै थापाले यसपटक उक्त अवसर प्राप्त भएकोले १२औं संस्करणको विजेता बन्नेमा ढुक्क रहेको
बताए ।
सिमरामा आज आयोजित प्रिम्याच कन्फ्रेन्समा बोल्दै उनले उपाधि उचाल्ने बताइँरहदा एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले भने आफ्नै टिमले जित्ने दाबी गरे । एपिएफ बलियो टोली भए पनि एनआरटी कमजोर नरहेको शाक्यको भनाइ थियो ।
शाक्यले यो सिजनको उपाधि जीतपुरसिमरा गोल्डकप उचालेर घर फर्कने बताए । उनले एनआरटीका लागि यो उपाधि निकै महŒवपूर्ण रहेको बताएका छन् ।
ए डिभिजन लिगबाहेक जारी सिजनमा एपिएफ र एनआरटीको यो पहिलो भेट हो । काठमाडौंमा सम्पन्न लिगमा दुवै टिमले ३–३ को बराबरी खेलेका थिए । लिगपछि मोफसलको प्रतियोगितामा पहिलोपटक भेट्न लागेका दुई टिमबीचको खेल रोमाञ्चक हुने अपेक्षा छ । आयोजक दुवै टिमका प्रशिक्षक पनि फाइनल भिडन्त रोमाञ्चक हुने बताउछन् ।
एनआरटीका कप्तान रन्जन बिष्ट पनि उपाधि जित्नैपर्ने अवस्थामा रहेकाले एपिएफको चुनौती सामना गर्न तयार रहेको बताउँछन् । एपिएफ सशक्त टिम भए पनि आफ्नो टिमका खेलाडी विपक्षी टिम अनुसारको रणनीति बनाएर मैदानमा उत्रने बिष्टले बताए ।
यता एपिएफका कप्तान नवीन लामा अब उपाधिका लागि धेरै बेर पर्खन नसक्ने बताउँछन् । धेरै वर्षको सहभागितामा पनि उपाधि जित्न नसक्दा दुःख लागेको भन्दै लामाले टिम र आफ्नो लागि उपाधि महŒवपूर्ण रहेको बताए । एपिएफले पनि आफ्नो नियमित खेलाडीलाई निन्तरता दिने कप्तान लामाले बताएका छन् ।