प्रस, वीरगंज, १८ चैत/
धोबिनी गाउँपालिकाका कर्मचारीहरूले सङ्घ सरकारले पठाएको बहुक्षेत्रीय कार्यक्रमको ६ लाख रकम एउटा सहकारीसँग मिलेमतो गरी कुम्ल्याएको तथ्य सार्वजनिक भएपछि महिलाहरूको समूहले गाउँपालिकाको कार्यालय घेराउ गर्दै चर्को नाराबाजी गरेका थिए ।
महिलाहरू कार्यालय घेराउ तथा तालाबन्दी गर्न आए पनि पियनबाहेक कोही नभएपछि महिलाहरू जनप्रतिनिधि तथा कर्मचारीविरुद्ध नाराबाजी लगाउँदै फर्केका थिए ।
गत आवको बहुक्षेत्रीय कार्यक्रमको रकम वडा नं. ३ हरिहरपुरस्थित श्रीकृषक फूलवारी महिला उत्थान कृषि सहकारी संस्थाको खातामा रकम पठाई काम नगरी रकम बाँडफाँड गरेको स्थानीय सम्सुल मियाँले आरोप लगाए । सहकारी संस्थाको खाताको बैंक स्टेटमेन्टमा गत आवको अन्तिम समयमा रकम आएको मियाँले बताए ।
संस्थाकी अध्यक्ष बबितादेवीले २०७८/४/१४ गते रु ४ लाख २५ हजार झिकेको तथा सोही मितिमा चन्द्रिका साहले रु १ लाख ९० हजार रकम झिकेको प्रमाणले देखाएको मियाँको दाबी छ ।
यस सम्बन्धमा अध्यक्ष बबिताले संस्थाको खातामा रकम गापाले पठाएको तर आफूसँग शिक्षा शाखा प्रमुख अरविन्द त्रिपाठी तथा पोषण इन्चार्ज मन्दीपकुमार रामले चेक लगी रकम झिकेको बताएकी छन् ।
यस विषयमा त्रिपाठी र गापाध्यक्ष सुरेश कुर्मीसँग बुझ्दा २५ हजारको दरले २५ जनालाई बाख्रा किन्न रकम आएको बताए ।
तर सो सहकारीमा ५० जनाभन्दा बढी महिला सदस्य रहेकोमा विवाद भएपछि सो काम रोकिएको बताए । पैसा संस्थामा गएपछि रकम आफूले नझिकेको तथा रकम संस्थाकै खातामा रहेको दाबी गरेका छन् ।