• उमाशङ्कर द्विवेदी

अब शूरसेन देशका योद्धा वाणको वर्षा गर्दै उनलाई अघि बढ्नबाट रोक्न थाले । उनीहरूसित केही बेर मुकाबिला गरेर उनी कलिङ्गदेशीय योद्धाहरूसित भिडे । केही बेरमा दुष्कर कलिङ्गसेनालाई पार गरेर उनी अर्जुनछेउ पुगे । जसरी जलमा तैरेका मानिस स्थलमा पुगेर सुस्ताउन थाल्दछ त्यसै प्रकार अर्जुनलाई हेरेर पुरुषसिंह सात्यकिलाई बडो शान्ति प्राप्त भयो ।

सात्यकिलाई आफूतिर आइरहेको देखेर श्रीकृष्णले अर्जुनसित भने–अर्जुन, हेर, तिम्रो सामु सात्यकि आउँदैछन् । यी महापराक्रमी वीर तिम्रा शिष्य र सखा हुन् । यिनले सबै योद्धाहरूलाई तृणको समान बुझेर परास्त गरिदिएका छन् । यिनी तिमीलाई प्राणभन्दा पनि प्रिय छन्, यति बेला यिनी कौरव योद्धाहरूको भयङ्कर संहार गरी यहाँ फर्केका छन् । यिनले आफ्ना वाणहरूबाट द्रोणाचार्य र भोजवंशी कृतवर्मालाई पनि होच्याइदिएका छन् तथा तिमीलाई हेर्नको निम्ति यिनले ठूल्ठूला योद्धा मारेर यहाँ आएका छन् । यिनलाई धर्मराजले तिम्रो खबर लिन पठाएका हुन् । त्यसैले यिनी आफ्नो बाहुबलले शत्रुसेनालाई विदिर्ण पारी यहाँ आइपुगेका छन् ।

अर्जुनले केही उदास हुँदै भने–महाबाहो, सात्यकि म छेउ आइरहेका छन्–यसबाट मलाई प्रसन्नता प्राप्त भइरहेको छैन । यिनी यहाँ आएपछि धर्मराज कुशल हुनुहुन्छ भन्ने कुरामा मलाइ शङ्का लागिरहेको छ, धर्मराज जीवित पनि हुनुहुन्छ कि भन्ने मलाई सुर्ता लाग्यो । यिनलाई त धर्मराजको रक्षा गर्नका लागि त्यहाँ पो हुनुपर्दथ्यो । यति बेला उनलाई असुरक्षित छाडेर यिनी यहाँ किन आउदै छन् ? अब धर्मराज द्रोणाचार्यबाट असुरक्षित छन् र यता जयद्रथको पनि वध भइसकेको छैन । अझ भूरिश्रवा सात्यकितर्फ जाँदैछन् ।

सूर्य पनि ढलि सकेको छ र मैले जयद्रथको वध अवश्य नै गर्नुछ । यता सात्यकि थाकिसकेका छन् तथा यिनका सारथि र घोडाहरू पनि शिथिल भइसकेका छन् तर भूरिश्रवामा अहिलेसम्म कुनै किसिमको थकाइ देखा परिरहेको छैन र उनका अनेकौं सहायक पनि मौजूद छन् । यस्तो स्थितिमा के यी भूरिश्रवासित भिडेर कुशल रहन सक्नेछन् ? धर्मराज द्रोणाचार्यबाट निर्भय भएर यिनलाई म छेउ पठाइदिएका छन्–यो उनको भूल हो कि जस्तो लाग्दैछ । उनीहरू निरन्तर धर्मराजलाई समात्ने दाउमा रहेका हुन्छन्, अनि यस्तो स्थितिमा धर्मराज कुशलसित होलान् त ?

सञ्जयले भने–राजन्, रणदुर्मद सात्यकिलाई आइरहेको देखेर भूरिश्रवा क्रोधित भई उनीतर्फ दगुरेर उनीसित भन्न थाले–ओ हो, आज यस सङ्ग्रामभूमिमा मेरो धेरै दिनदेखिको इच्छा पूर्ण भयो । अब यदि तिमीले यहाँबाट भागेर गएनौ भने जीवित बाच्ने छैनौं । अनि सात्यकिले हाँसेर भने–कुरूपुत्र, मलाई तिमीसित युद्धमा कति पनि भय छैन । केवल कुरा मात्र गरेर कसैले पनि मलाइ तर्साउन सक्दैन । त्यसैले व्यर्थ बकवादले के फाइदा ? काम गरेर देखाऊ । वीरवर, तिम्रो गर्जना सुनेर त मलाइ हाँसो उठ्छ । मेरो पनि तिमीसित जम्काजोरी खेल्न मन लागिरहेको छ । आज त तिमीलाई नमारि युद्ध मैदानबाट बाहिर जाने होइन ।

यस प्रकार एक अर्कालाई तीतो–पिरो सुनाएर दुवै वीर क्रोधित भई आपसमा भयङ्कर युद्ध गर्न थाले । भूरिश्रवाले आफ्ना तिख्खर वाणले सात्यकिलाई आच्छादित पारेर उनलाई सिध्याउनको लागि दशवटा वाण हानेर घाइते पारिदिए र फेरि अनेकौं वाणको झरी लगाइदिए तर सात्यकिले आफ्नो अस्त्रकौशलबाट ती वाणहरूलाई बीचमैं काटिदिए । यसपछि उनीहरू आपसमा नानाथरीका शस्त्रहरूको वर्षा गर्न थाले । दुवैले एक अर्काका घोडा मारेर एक अर्काको धनुष पनि काटिदिए । यस प्रकार दुवैजना रथहीन भए तथा हातमा ढाल तरबार लिएर युद्धका विभिन्न किसिमका कौशल प्रदर्शन गर्न थाले । यी यशस्वी वीर भ्रान्त, उद्भ्रान्त, आबिद्ध, आप्लुत, सृत, सम्पात र समुदीर्ण आदि अनेकौं प्रकारको गति देखाउँदै मोका पाएर एक अर्कामाथि तरबारको वार गर्न थाले । दुवैले आफ्नो शिक्षा फुर्ति, सफाइ र कुशलताको परिचय दिदै एक अर्कालाई होच्याउने प्रयास गर्न चाहन्थे ।

अन्तमा दुवैले तरबारले एक अर्काको ढाल काटिदिएर आपसमा बाहुयुद्ध गर्न थाले । दुवै मल्लयुद्धमा निष्णात् थिए, उनीहरूका छाती फराकिलो तथा भुजाहरू लामा लामा थिए । अतः उनीहरू आफ्ना लौहदण्ड समान सुदृढ भुजाहरूमा एक आपसमा गुट्मुटिए । मल्लयुद्धमा दुवैको शिक्षा उच्च किसिमको थियो र दुवै धेरै बल सम्पन्न थिए । त्यसैले उनीहरूको ताल ठोक्ने, जीउ बेर्ने र हात समात्ने कौशल हेरेर योद्धाहरूलाई बडो प्रसन्नता हुन्थ्यो ।

त्यति बेला सङ्ग्रामभूमिमा भिडेका ती दुवै वीरहरूबाट बज्र र पर्वतको ठक्करको समान बडो घोर शब्द आइरहेको थियो । उनीहरूले भुजालाई बेरेर, टाउकोमा टाउको जोरेर, खुट्टा तानेर, तोमर, अंकुश नामक दाउपेच देखाउँदै भुँडीमा घुँडा टेकेर, पृथ्वीमाथि घुमाएर, अगि–पछि हटेर, धक्का हानेर, खसालेर र माथि उफ्रेर अटल युद्ध गरे । मल्लयुद्धका बत्तीसवटा दाउहरू हुन्छन्, ती जम्मैको प्रयोग देखाउँदै उनीहरूले डटेर कुश्ती गरे । क्रमशः…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here