भन्सार कार्यालय भनेको आम्दानी हुने कार्यालयको रुपमा परिभाषित हुँदै आएको छ । कुनै पनि कर्मचारीले म भन्सारमा कार्यरत छु भनेपछि उसप्रति आममानिसको धारणा नै परिवर्तन हुन्छ । बापरे भन्सार कर्मचारी, खुब कमाउँदो होला । मालपानीको कमि छैन विचरालाई । अहिलेसम्म यो कार्यालयको बारेमा आमधारणा यहि नै छ । पर्सा जिल्लाको सन्दर्भ हेर्ने हो भने सिर्सिया सुख्खा बन्दरगाह र एकिकृत सुरक्षा जाँच चौकी (आइसिपी) सञ्चालन पुर्व वीरगंज भन्सारको कुरो नै अर्काे थियो । वीरगंज भन्सार कार्यालयका कर्मचारीहरु हत्तपत्त विदा लिदैनन् थिए । कार्यालय कुनै चाडपर्वमा बन्द भयो भने पनि त्याहाँका कर्मचारीहरु कार्यालय रुघेर बस्न पाए हुन्थ्यो भन्ने सोच राख्द थिए । घरमा मरन धरन परेको बाहेक उनिहरु विदा लिदैनन् थिए । बिहान ८ बजे खाजा, खानासमेत त्यागेर उनिहरु हुइकिएर कार्यालय पुग्थे भने राती अबेरसम्म कार्य गर्दथे । सो गरेवापत उनिहरुलाई अतिरिक्त पारिश्रमिकको पनि बेवस्था सरकारले गरेको थिएन । यसो सर्र यो वृतान्त सुन्दा उनिहरु वास्तवमा राष्ट्र सेवक, इमानदार कर्मचारी भएको भान हुनजान्छ । तर त्यहि राज्यबाट राष्ट्रसेवक कर्मचारीहरुलाई दिइने मानपदवीमा भने उनिहरुको न्युन सहभागिता रहदै आएको दृष्टान्त नियालिने हो भने किन यसो भएको होला त भनेर सोचविचार गर्न बाध्य हुन्छौ । वास्तवमा उनिहरुको त्यो लगन इमानदारिताका लागि होइन बेइमानीका लागि थियो र छ पनि ।
दैनिकी रुपमा हुने आम्दानीका लागि उनिहरु सबैखाले त्याग गर्दथे । उनिहरुको त्यो अवसरवादीताको बारेमा सरकारलाई पनि थाहा थियो र उसले अन्य कर्मचारीको तुलना बिहानदेखी बेलुकीसम्म र कुनै पनि दिन विदा नपरोस् भनेर खटने भन्सार कर्मचारीलाई सम्मानको नजरियाले हेर्दैन थियो र अहिले सम्म हेरेको पनि छ जस्तो लाग्दैन । त्यत्तिकै उखान बनेको होइन–भन्सारमा संसार । भन्सारकै कुरा गर्दा वीरगंज भन्सार कार्यालय अन्तर्गत पर्सा र बाराका छोटी भन्सारहरु पनि पर्दछन । बाराको मटिअर्वा, सिम्रौनगढ, पर्साको ठोरी, जानकीटोला, अलौमा लामो समयदेखी छोटी भन्सार सञ्चालनमा थिए । अहिले यी स्थानमध्ये मटिअर्वा बाहेकमा छोटी भन्सार सञ्चालनमा छैन । कारण त्यहि भन्सारका कर्मचारी । उनिहरु छोटी भन्सार कार्यालयमा आम्दानी नै नहुने भएकोले जादै जादैनन् । कुनै बखत यी सबै छोटी भन्सार कार्यालयहरु सञ्चालनमा हुँदा वीरगंज भन्सार कार्यालयका प्रमुखलाई कर्मचारी खटनपटनमा समस्या हुने गर्दथ्यो । त्यत्तिखेरका प्रमुखहरुले कर्मचारीलाई आलोपालो गरि छोटी भन्सार कार्यालयमा पठाउथे । एकजना कर्मचारीले वर्षमा एकचोटी एकमहिनाका लागि छोटी भन्सारमा खटेकै हुनुपर्दथ्यो । त्यसरी खटेका कर्मचारी एघारमहिनासम्म वीरगंज भन्सार कार्यालयमा ढुक्कका साथ काम गर्न पाउथे ।
अहिले सायद त्यस्तो बेवस्था गरिएको छैन र प्रायः छोटी भन्सार कार्यालयहरु बन्द भएका छन । ठोरी छोटी भन्सार कार्यालय पनि यहि रोगको शिकार भएको हुनुपर्छ । वीरगंज बाहेक जिल्लाका अन्यत्र छोटी भन्सार कार्यालयमा जानै नचाहने कर्मचारीहरुलाई लगाम लगाउन नसक्दा यो परिणाम देखिएको हो । यसमा कार्यालय प्रमुखको पनि गैरजिम्मेवारीपना देखिन्छ । आफु मातहतका कर्मचारीलाई तोकिएको स्थानमा गएर काम गर्न सक्दैनन् भने सोही अनुरुपको कार्यवाही गर्न नसक्नु कमजोरी हो ।