प्रस, वीरगंज, १७ चैत/

मधेस प्रदेशको एकमात्र महानगरपालिकामा चुनावी सरगर्मी जोडशोरले बढेको छ । नगरप्रमुख विजयकुमार सरावगी यस अघि तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट निर्वाचित भएका थिए भने अहिले उनी एमालेमा प्रवेश गरेर सोही पार्टीबाट नगरप्रमुखको दाबेदारी गरिरहेका छन् । सरावगीले गत स्थानीय चुनावमा १९ हजार ३९३ मत ल्याएका थिए ।

एमालेबाट उपप्रमुखमा गत स्थानीय चुनावमा सोफिया आचार्य चुनाव लडेकी थिइन् । अहिले उनी नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएकी छन् र एमालेले अहिले उपप्रमुखको निधो गरिसकेको छैन ।

एमाले, पर्साका इन्चार्ज प्रभु हजराले उपप्रमुखको लागि अहिले कसैको पनि चर्चा नभएको र गठबन्धनबाट टुङ्गो लगाउने विषयमा विचार विमर्श भइरहेको बताएका छन् ।

महानगर प्रमुखमा जनता समाजवादी पार्टीबाट राजेशमान सिंहको नाम अहिले चर्चामा छ । उनी चैत २८ गतेसम्म तत्कालीन लोसपा परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनीपछि सरावगी एमालेमा प्रवेश गरेपछि सिंह जसपामा प्रवेश गरेका हुन् र उनलाई नगरप्रमुखको उम्मेदवार बनाउने जसपाले घोषणा गरिसकेको छ । गत स्थानीय चुनावमा सिंहले १२ हजार १६५ मत ल्याएका थिए ।

जसपाबाट गत स्थानीय निर्वाचनमा उपप्रमुखमा पराजित पिङ्की यादव नै लड्ने पक्कापक्की भएको छ । यादवले गत स्थानीय चुनावमा १८ हजार ५३० मत ल्याएकी थिइन् । उनलाई उपप्रमुख शान्ति कार्कीले १९ हजार ६०७ मत ल्याएर पराजित गरेकी थिइन् ।

यसैगरी, लोसपाबाट पुरुषोत्तमलाल झाको नाम चर्चामा छ भने यो पार्टीबाट उपप्रमुखमा रम्भादेवी मिश्र दाबेदार छिन्, उनले गत स्थानीय चुनावमा १० हजार ६६३ मत ल्याएकी थिइन् ।

नेकपा माओवादीबाट गत स्थानीय निर्वाचनमा नगरप्रमुखमा उम्मेदवार रहवर अन्सारी नै चुनाव लड्ने भएका छन् । उनले गत स्थानीय चुनावमा ८ हजार ३०५ मत पाएका थिए । माओवादीबाट उपप्रमुखको टुङ्गो लागेको छैन । गत चुनावमा  माओवादीबाट दुर्गा क्ष्Fत्री उपप्रमुखमा लडेकी थिइन् । उनले ५ हजार २८ मत पाएकी थिइन् । नेकपा माओवादी केन्द्रका पर्सा इन्चार्ज विजय महतोले उपप्रमुखको टुङ्गो नलागेको बताए । उनले गठबन्धन हुने सम्भावना बढी हुने भएकोले उपप्रमुखको टुङ्गो नलागेको बताए ।

गत स्थानीय चुनावमा नेपाल लोकतान्त्रिक फोरमबाट चुनाव लडेका विमल श्रीवास्तवको यसपटक नगरप्रमुखमा दाबेदारी छैन । उनी सङ्घीय संसद्मा निर्वाचित छन् । महानगरमा गत स्थानीय चुनावमा १ लाख ८ हजार ५०१ मतदाता थिए । यसपटकको गणनामा यो सङ्ख्यामा वृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here