ओमप्रकाश चौधरी, सेढवा, १७ चैत/
पर्साको ग्रामीण भेगका किसानहरूले चैते धानको रोपाइँ शुरू गरेका छन् । जिल्लाको उत्तरी तथा पश्चिमी क्षेत्र जसलाई थरूहट पनि भनिन्छ यहाँ चैते धानको खेती हुने गरेको छ ।
यस क्षेत्र अन्तर्गत ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवापरसौनी तथा पर्सागढी पर्दछन् र यहाँ बालीपछि चैते धान रोपिन्छ । चैते धानमा हर्दिनाथ जातका बाली लगाउने गरिएको छ ।
पटेर्वासुगौली गाउँपालिका–२ मकवानीटोलका किसान बिगा महरा चमारका अनुसार हालसम्म तीस बिघा जग्गामा चैते धान रोपाइँ सम्पन्न भइसकेको छ । गत वर्षदेखि जमीनमुनिको पानीको सतह बढेको र खोला, पैनीलगायत जलाशयमा पानी वृद्धि भएका कारण रोपाइँमा सहयोग मिलेको चमारले बताए । यो बाली लगाउँदा सोही जमीनबाट दुर्ई बाली धान उत्पादन गर्न सकिने किसान चमार बताउँछन् ।
हर्दिनाथ धान बाली ९० दिन अथवा असारको दोस्रो साता भिœयाउन सकिने हुनाले यो अवधिमा अगहनी धान रोप्न सकिने किसानहरूले बताए । चैते धानको चामल तथा भात मीठो हुने हुँदा किसानहरू यसको खेती गर्न आकर्षित हुने गरेका छन् ।
ठोरी गाउँपालिका–५ सुवर्णपुरका जया बोन्जनका अनुसार ठोरी गाउँपालिका–५ मा मात्र ३५० देखि ४०० बिघा जमीनमा यो धानको खेती हुने गरेको छ । तर देशका तीनै तहका सरकारले रासायनिक मलको सहज व्यवस्थापन नगरेका कारण कठिनाइ भोग्नुपरेको गुनासो गरे । कृषि सहकारी संस्थाबाट रासायनिक मल नपाउँदा भारतीय बजारबाट २८ सयमा डिएपी र एक हजार रुपियाँमा ४५ केजीको युरिया मलको बोरा ल्याउन पर्ने गरेको बोन्जनले गुनासो गरे । त्यो मल पनि गुणस्तरहीन रहेको किसानहरूको भनाइ छ ।
त्यस्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण किसानहरू मारमा परेका छन् । ट्याक्टरबाट फालीले खेत जोताइको मूल्य ८ सय प्रतिघण्टाको दर वृद्धि भएर १ हजार पुगेको छ । रोटाभेटरले जोताइ गर्दा एक हजार प्रतिघण्टाबाट वृद्धि भएर १ हजार चार सय पुगेको किसानहरूले गुनासो गरेका छन् । कृषिकर्म महँगो र सुविधा नपाउँदा किसानमा निराशा छ ।