चिरञ्जीवी सापकोटा, ठोरी, १६ चैत/
कोरोना कहरको बेलादेखि बन्द भएको पर्साको ठोरी नाका अझै खुलेको छैन । जिल्लाका सबै नाका खुलेको धेरै समय बितिसक्दा पनि ठोरी नाका नखुल्नु ठोरीप्रति राज्यले बेवास्ता गर्नु हो ।
मधेस प्रदेश सरकारले ठोरीलाई मधेसकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरे तापनि नाका खोल्न पहल नगर्नु अत्यन्तै दुःखद पक्ष रहेको समृद्ध ठोरी अभियानका संयोजक तथा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाश खनालले बताए ।
ठोरी घुम्न आउने भारतीय पर्यटकहरूलाई निकै सास्ती भोग्नुपरेको छ । गाडी लिएर ठोरी घुम्न आउने भारतीयहरूले गाडी भारतको भिखना ठोरीमा नै राखेर नेपाल आउनु पर्ने अवस्था छ, जसका कारणले पर्यटकहरूलाई सास्ती भइरहेको छ । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक ठोरीमा गत ११ गते बसेको थियो ।
मन्त्रिपरिषद्को बैठक बसी ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरे तापनि नाका बन्द हुँदासमेत चुपचाप बस्नु ठोरीवासीका लागि दुर्भाग्यपूर्ण रहेको खनालको भनाइ छ ।
ठोरी घुम्न आउने पर्यटकहरू ७० प्रतिशतभन्दा बढी भारतीय रहने गरेका छन् भन्ने उच्च अधिकारीहरूलाई बारम्बार अनुरोध गर्दासमेत अझैसम्म बन्द रहेको नाका खोल्ने कुनै प्रयास नहुनु ठोरीवासी र यहाँको पर्यटनका लागि अभिशाप बनेको स्थानीयको भनाइ छ ।
पुरानो समयमा नुन भिœयाउने नाकाको रूपमा परिचित तथा नाकाबन्दीको समयमा राज्यलाई नै पेट्रोलियम पदार्थ भिœयाई भरथेग गरेको भए पनि कोरोना कहर बितेको लामो समयसम्म ठोरी नाका खोल्न बारम्बार आवाज उठाउँदासमेत राज्यले कानमा तेल हालेर बसेको स्थानीय पर्यटन व्यवसायी धीरसिंह घिमिरेले गुनासो गरे ।
बन्द रहेको ठोरी नाका खुलाएर ठोरीमा रहेको छोटी भन्सारको स्तरोन्नति गरी चारचक्के गाडीको भन्सार काट्ने व्यवस्थासमेत ठोरीमा हुनुपर्ने ठोरीवासीको माग रहेको घिमिरेको भनाइ छ । मधेस प्रदेस सरकारले ठोरीमैं आएर पर्यटकीय क्षेत्र घोषणा गर्नु ठोरीवासीका लागि गौरवको विषय भए तापनि ठोरी भन्सारको स्तरोन्नति नगरी यसको सफल कार्यान्वयन नहुने खनालले बताएका छन् ।