प्रस, वीरगंज, १५ चैत/
जिल्ला प्रशासन कार्यालय, पर्सामा नागरिकता लिनेहरूको भीड बढेको छ । स्थानीय तहको निर्वाचनमा मतदाता नामावलीमा नाम भएकाहरूले नागरिकताको आधारमा मतदान गर्न पाउने भनेर विभिन्न दलका नेताहरूले गाउँघरमा प्रचार गरेको कारण अहिले मतदाता परिचयपत्र पाउन नसकेका तर मतदाता नामावलीमा नाम भएकाहरू जिल्ला प्रशासन कार्यालय, पर्सामा नागरिकता लिन तँछाड–मछाड गर्दैछन् ।
मतदाता नामावलीमा नाम भए–नभएबारे जानकारी नलिएरै अहिले नागरिकता बनाउनेहरूको भीड बढेको छ । विभिन्न पालिकामा रहेका विभिन्न दलका नेताहरूले यस्तो हल्ला फैलाएपछि नागरिकता लिनेहरूको भीड बढेको हो । जिल्ला निर्वाचन कार्यालय, पर्साको प्रमुख रञ्जना झाले मतदाता नामावलीमा नाम भएका र मतदाता परिचयपत्र लिएर हराएका तथा परिचयपत्र लिन नसकेकाहरूको हकमा नागरिकतालाई आधार मानेर मतदान गर्न पाउने व्यवस्था मिलाएको बताइन् । उनले मतदाता नामावलीमा नाम नभएकाहरूको हकमा नागरिकता मात्रको आधारमा मतदान गर्न नपाउने प्रस्ट्याइन् ।
स्थानीय तहको निर्वाचनको लागि डेढ महीनामात्र बाँकी रहँदा जिल्ला प्रशासन कार्यालयमा विगतको तुलनामा अहिले नागरिकता लिनेहरूको भीड बढेको हो । प्रमुख जिल्ला अधिकारी उमेश ढकालले एक्कासि दोब्बर सङ्ख्यामा नागरिकता लिन आउनेहरू बढेको बताए । विभिन्न दलका नेताहरूले नागरिकताका लागि मतदाताहरूलाई उस्काएको कारण भीड बढेको बुझिन आएको छ । केही नेताहरूले नागरिकता बनाउनको लागि आवतजावत खर्चसमेत बेहोरिरहेका छन् ।
नागरिकता पाउने सबै उमेर तहका मानिसहरूको अहिले जिल्ला प्रशासनमा भीड बढेको छ । एकजनाले छोराको नागरिकता नभएको र सो बनाउन आफ्नो लागि पैसा पनि नभएको नेतालाई बताएपछि सवारी खर्च, खाजा खर्चसहित नागरिकता बनाउन पठाएको बताए । यसरी नागरिकता बनाउनेहरूको भीड अहिले जिल्ला प्रशासनमा देख्न पाइन्छ ।