प्रस, निजगढ, १५ चैत/
चुरे संरक्षणसम्बन्धी अभिमुखीकरण तीन दिने तालीम सोमवार सम्पन्न भएको छ । चुरेको संरक्षणविना चुरे क्षेत्रको माथिल्लो तटीय क्षेत्र र तल्लो तटीय क्षेत्रको संरक्षण नहुने भएकोले तराई–मधेसमा रहेका सबैले चुरे संरक्षणलाई आत्मसात् गर्नुको विकल्प छैन । चुरे विश्वको कान्छो पर्वत शङ्ृखला भएकोले चुरे पर्वत तराई–मधेसको जीवन रेखा रहेकोले यसको संरक्षणमा सबैको समान चासो र चिन्ता हुन जरूरी छ । जसरी मानव जीवन स्वस्थ तरीकाले बाँच्न शरीरका विभिन्न अङ्कहरूको महŒवपूर्ण भूमिका हुन्छ, त्यसैगरी तराई–मधेसको प्रकृति र प्राकृतिक जीवन चक्रसँग चुरे पर्वतको सम्बन्ध अनिवार्यरूपमा प्रगाढ रहेको बताउँदै चुरेविना तराई–मधेसको कल्पना गर्न नसकिने सो अवसरमा बताइएको थियो ।
चुरे र चुरे आसपासका वनजङ्गलमा हरियाली नरहे वर्षा याममा उचित मात्रामा वर्षा नहुने र पानीको स्रोत तराई मधेसमा निकै कम हुन गई पानीको अभावमा मानव, वन्यजन्तु, घरपालुवा जनावरलगायत अन्य प्राणीको जीवन सङ्कटमा पर्ने बताउँदै पानीको अभावमा तराई–मधेसको खेतीयोग्य जमीन बञ्जर, मरुभूमि हुने सो तालिममा जानकारी दिइएको थियो । मानव बस्ती, खेतीपातीका नाउँमा चुरे र आसपासका वन क्षेत्रको अनावश्यक अतिक्रमण फडानी गर्न नहुने बताउँदै मानव बस्ती होस् वा अन्य विकास निर्माण, बाटाघाटा, सडकलगायत कार्य नगरी चुरे दोहन रोक्नु नै चुरे संरक्षणको पहिलो प्रयास हुने बताइएको थियो ।
पछिल्लो समय यता निरन्तर चुरेका संवेदनशील क्षेत्रमा रहेका ढुङ्गा, गिट्टी, बालुवाजस्ता प्राकृतिक स्रोतमाथि आक्रमण भइरहेको छ । चुरे क्षेत्रबाट निस्कने खोला, खोल्सीहरूलाई व्यवस्थित बनाउन राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ भरतपुर, चितवनले विभिन्न नदी खोलानाला, खोल्सीहरूमा तटबन्ध, वृक्षारोपणलगायत आवश्यक कार्य गर्दै आइरहेको र यसको संरक्षणमा स्थानीयहरूको पनि सहभागिता अनिवार्य रहने सो तालिमका प्रशिक्षक राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाई भरतपुर चितवनका प्राविधिक अनिल सिन्हाले जानकारी दिए ।
विभिन्न समयमा गरिएका चुरे संरक्षणका प्रयास र उद्योगका नाउँमा चुरे र यसको आसपास प्राकृतिक स्रोत साधनहरूको अचाक्ली दोहन र यसको रोकथामका विषयमा सञ्चारकर्मी र सञ्चार क्षेत्रले पु¥याउँदै आएको योगदानको चर्चा गर्दै यससम्बन्धी तस्वीरहरू र श्रव्य–दृश्यमार्फत सहभागीहरूलाई पत्रकार जीतलाल श्रेष्ठले जानकारी गराएका थिए ।
तालीममा राष्ट्रपति चुरे तराई–मधेस संरक्षणका लागि गुरु योजना, चुरे संरक्षणका गतिविधि, चुरे संरक्षणमा स्थानीय सहभागिताबारे मनिक थिङ र अन्य विविध विषयमा निश्चल रेग्मीले जानकारी दिएका थिए ।
राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ भरतपुर चितवनको आयोजनामा तीन दिनसम्म जीतपुर–सिमरा उपमहानगरपालिका–२१ अमलेखगंज र २२ चकरीका चारवटा उपभोक्ता समूहका २५ जना सहभागी थिए ।