अहिले स्थानीय तहको निर्वाचन आइरहेको छ । यो निर्वाचन कुनै पनि राजनीतिक दलको लोकप्रियताको कसी हुने हुँदा, जसरी पनि निर्वाचनमा जित्ने दाउमा राजनीतिक दलहरू लागेका छन् । तर अहिले राजनीति आफू अघि बढ्ने नभएर कसैलाई पराजित पार्ने रणनीतिबाट सञ्चालित भइरहेको छ । देशमा बहुमतको सरकार नचल्ने विगत ६२ वर्षको राजनीतिक इतिहासले देखाइसकेको छ । नेपाली राजनीतिको विडम्बना नै होस एकल दलको बहुमत होस्, गठबन्धनपश्चात् जितेर संयुक्त भएका दलहरूको बहुमत होस् वा गठबन्धनबाट बनेको बहुमत होस्, पूरा कार्यकाल चल्नै सकेको छैन । यसमा कुनै दुष्कर राजनीतिक उथलपुथल होइन, वरन् नेतृत्वमा देखा परेको अहम् र पदलोलुपता प्रमुख कारक बन्ने गरेको छ । बहुमत मात्र होइन, नेपाल काङ्ग्रेसले पहिलो आम निर्वाचनमा दुईतिहाई बहुमत ल्याएको थियो । संयोग जुरेन, ‘कू‘मा प¥यो । त्यसपछि अर्को आम निर्वाचन २०४७ सालमा पनि नेपाली काङ्ग्रेसले दुईतिहाई बहुमत ल्यायो, आफ्नै पार्टीका सांसदहरूले गर्दा सरकार ढल्यो, नेतृत्वको अहम् यति चुलियो कि दलकै अर्को सरकार बनाउनुको साटो निर्वाचनमा जाने निर्णय गरेर सबै साख गुमायो ।

त्यस बेला गिरिजाप्रसाद कोइरालालाई आफूपायकका व्यक्तिलाई जिताएर बहुमत ल्याउने ठूलो विश्वासले धोखा दियो । बहुमत त के पार्टी नै तेस्रो स्थानमा पुग्यो । तत्पश्चात् नयाँ संविधान आएपछि नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन भयो र यो गठबन्धनले दुईतिहाई बहुमतसहित निर्वाचन जित्यो । वाम पार्टीहरूको गठबन्धन भएकोले सदासर्वदा नेपालको सत्तामा बस्न सकिने महŒवाकाङ्क्षाले दुवै पार्टी परम्पर गाभिए । तर नेपाली राजनीतिको दुर्भाग्य, यो वामपन्थी एकता पनि धरापमा प¥यो । पार्टी टुक्रिएन मात्रै, तीन चिरा प¥यो । साक्षी किनारामा पुगेको नेपाली काङ्ग्रेस सत्तामा आयो, उही टुक्रिएको सत्तादलका टुक्रा–टुक्राहरू मिलेर । जतिसुकै सत्ता गठबन्धन गरे पनि, आफूलाई शक्तिशाली देखाए पनि नेकपा एमालेको भूतले गठबन्धनका पाँचै दललाई तर्साउन छाडेन । केही सैद्धान्तिक नेताहरूलाई छाडेर गठबन्धनका पाँचै दल मिलेर निर्वाचन लड्ने सुरमा छन्, कसैगरी एमालेलाई हराउने दाउमा छन् । आफू जित्नुभन्दा एमालेलाई पराजित गर्ने अभीष्टमा छन् । सत्ताविना राजनीति काटिएको रूखको ठुटो मात्र हुन्छ । सत्ता त चाहिन्छ, तर कुन शर्तमा, कुन मूल्यमा भन्ने कुरा पनि अहम् हुन्छ ।

गठबन्धनमा नेपाली काङ्ग्रेस, एकदम विपरीत राजनीतिक सिद्धान्त भएका वामपन्थी र उग्र वामपन्थी दलहरू, मधेसवादी दलहरू छन् । यस्तो गठबन्धनले तिनका राजनीतिक दलका कार्यकर्ताहरूको चित्त कसरी बुझाउला ? पार्टी अनुशासनको वास्ता दिएर कार्यकर्ताले चित्त बुझाए पनि समर्थकहरूले किन त्यो निर्णय मान्लान् ? यस्तोमा स्थानीय निर्वाचन पार्टीभन्दा व्यक्ति–केन्द्रित बन्दैन भन्न सकिन्न । तसर्थ नेपाली काङ्ग्रेसजस्तो राष्ट्रिय पार्टीले एकपटकको जीतका लागि कार्यकर्ता र समर्थकको असन्तुष्टि खेप्ने जोखिम मोल्नु अराजनीतिक निर्णय हुनेछ । निर्वाचनमा एमालेलाई हराएर विजय हासिल गरे पनि अन्ततः नेका मनले हारेको पार्टी बन्नेछ । कमोबेस त्यही अवस्थामा माओवादी केन्द्र पनि पुग्नेछ । च्याखे दाउमा विजयी बन्ने सपना देखेका साना दलहरूका लागि भने गठबन्धन फलदायी बन्नेछ । एक्लैको बूताले जित्न नसक्नेहरू नै अहिले ठूलो स्वरमा गठबन्धनको राग अलापिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here