प्रस, ठोरी, १४ चैत/

ठोरी–४ स्याउलीबस्तीका १५ परिवारलाई गाउँपालिकाको कार्यालयले जग्गाको निस्सा प्रमाणपत्र वितरण गरेको छ । ठोरी–४ अन्तर्गत रहेका सुकुमबासीलाई लालपुर्जा प्राप्त गर्ने प्रक्रियामा लैजान सबैभन्दा पहिलो चरणको रूपमा निस्सा वितरण गरिएको र यो ठोरी गापाका पाँचवटै वडामा निस्सा प्रमाणपत्र वितरण गर्ने गापा अध्यक्ष पद्मलाल श्रेष्ठले बताए ।

बजारमा निस्सा प्रमाणपत्र नक्कली भन्ने पनि हल्ला सुनेको हँुदा सुकुमबासीबाट हुकुमबासी बनाउने अभियान भएकोले कसैको भ्रममा नपर्न पनि उनले अनुरोध गरे । आज पहिलो चरणमा गापा अध्यक्ष श्रेष्ठले १५ जना सुकुमबासीलाई निस्सा प्रमाणप्रत्र वितरण गरेका हुन् ।

निस्सा प्रमाणपत्र वितरण कार्यक्रममा वक्ताहरूले स्याउलीबस्तीका बासिन्दालाई लालपुर्जा वितरणको प्रक्रियामा लैजाने गापाको यो कदमको स्वागत गरेका थिए ।

नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि रामबहादुर श्रेष्ठले ढिलै भएपनि गाउँपालिकाले राम्रो कदम उठाएकोमा धन्यवाद व्यक्त गरे । गठबन्धन सरकार भएकोले पनि काङ्ग्रेसको सहयोग आवश्यक भएकोले यस कार्यमा काङ्ग्रेस सहयोग गर्न तयार भएको बताए ।

अर्का वक्ता नेपाली काङ्ग्रेस, ठोरीका सभापति सन्तोष श्रेष्ठले वडाध्यक्ष बहीबहादुर पाख्रिनको यो कार्यक्रम अन्तिम भएपनि सम्झनयोग्य ऐतिहासिक भएको बताउँदै निस्सा प्रमाणपत्र मात्र सबै कुरा नभएकोले त्यसलाई निष्कर्षमा पु¥याउन राष्ट्रिय भूमि आयोगको अहम् भूमिका हुने भएकोले काङ्ग्रेसले गापासँग सहकार्य गरेर जाने र हरतरहले सहयोग गर्न तयार रहेको धारणा राखे ।

ठोरी–४ का अध्यक्ष बहीबहादुर पाख्रिनको सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रबाट ठोरी–४ को अध्यक्ष पदका उम्मेदवार सागर दोङ, कान्छीमाया थिङ, पूर्णबहादुर थिङ, अम्बर निर्दोष, विभिन्न दलका प्रतिनिधि, स्थानीयवासी, स्याउलीबस्तीका सुकुमबासीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here