- सुदर्शनराज पाण्डे
नेपालमा नानाथरीका अनगिन्ती सञ्चारमाध्यम सञ्चालनमा छन् । विद्युतीय र छापा माध्यमको एउटै उद्देश्य पाठक र श्रोतालाई जानकारी गराउनु र मनोरञ्जन दिनु हो । पत्रकारितामा प्रमुख कुरा सामाजिक जिम्मेवारी र राष्ट्रिय उत्तरदायित्व हुनुपर्दछ । मानव समाज र देशलाई बर्बाद गर्ने सूचना प्रवाह गर्न पाइँदैन । यतिखेर पत्रकारिता क्षेत्र छरपस्ट छ । सञ्चारमाध्यमको दुरुपयोग भइरहेको छ । जुन काम पत्रकारले गर्न नहुने हो, त्यही काम बढी मात्रामा भइरहेको छ । पत्रकारिता क्षेत्रको अनुगमन गर्ने निकायले पनि नियन्त्रण गर्न सकेको छैन ।
छापा सञ्चारमाध्यम पत्रपत्रिका, समाचारपत्र, विद्युतीय सञ्चारमाध्यम एफएम रेडियो, टेलिभिजन, अनलाइनको सङ्ख्यात्मक वृद्धिसँगै गुणात्मक विकास हुन सकेको छैन । पत्रकारिता तालीम र प्रशिक्षण लिने र पत्रकारिता विषय अध्ययन गर्ने दक्ष, योग्य र क्रियाशील पत्रकारको सङ्ख्या निकै कम छ । तैपनि सञ्चार क्षेत्र धानिएको छ । सञ्चार क्षेत्र र सञ्चारमाध्यमलाई प्रभावकारी, लोकप्रिय, विश्वसनीय बनाउनेतर्फ खासै चिन्ता र चासो छैन । सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीको पेशागत प्रत्याभूति छैन । उपलब्ध हुँदै आएको तलब, सुविधा र सहुलियत पनि सन्तोषजनक छैन । सङ्ख्यात्मक वृद्धिले गर्दा विज्ञापन बजार पनि खुम्चिंदै गएको छ ।
देश विकासको सुनिश्चित भविष्य आर्थिक गतिविधिमा पत्रकारिताको भविष्य पनि निर्भर गर्दछ । विज्ञापन सञ्चारमाध्यमको आर्थिक मेरुदण्ड हो । समानुपातिक विज्ञापन नीति नभएकै कारण साना सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूले दुःख, कष्ट झेलिरहेका छन् । जीवननिर्वाह मात्र गर्ने साधन पत्रकारिता त होइन तर आधा पेट खाएर रुग्ण पत्रकारिता कहिलेसम्म गर्ने ? क्रान्ति, परिवर्तन, समाज सुधारका साथै अनैतिक क्रियाकलाप, अनुचित आर्थिक गतिविधि नियन्त्रणमा साना सञ्चारमाध्यमहरूले जति भूमिका ठूला शक्तिशाली मानिएका सञ्चारमाध्यमले आवश्यकता अनुसारको पहल र भूमिका खेल्न चाहेको पाइँदैन । विज्ञापनका लागि सूचना लुकाउने, झूटा समाचार दिने, गलत स्वार्थको पक्षपोषण गर्ने परिपाटी बढेको छ ।
राष्ट्रघाती अमेरिकी विकास अनुदान एमसिसी सम्झौता संसद्बाट पारित गराउने कुरामा सञ्चारमाध्यमहरूले देखाएको रूपरङ्गबाट व्यावसायिक पत्रकारिताको स्तर छर्लङ्ग भएको छ । साना सञ्चारमाध्यम जसले ध्येयमूलक पत्रकारिता (मिसन जर्नालिज्म)को जिम्मेवारी पूरा गर्दै आएको विषय सराहनीय छ । पैसाका लागि, गलत स्वार्थका लागि पत्रकारिता क्षेत्रमा लागेका व्यक्तिहरूले जुनसुकै बेला राष्ट्रघात र जनघातमा सम्झौता गर्न सक्छन् तर ध्येय पत्रकारितामा लागेका व्यक्तिहरूले राष्ट्रघात र जनघातका विरुद्ध निरन्तर कलम सङ्घर्ष गरिरहेका हुन्छन् । व्यावसायिक पत्रकारितामा प्रेस आचारसंहिता ¥हास हुँदै गएको, व्यावसायिक नैतिकता पतन हुँदै गएको पाइएको छ । पत्रकारिता क्षेत्रमा आएको यस्तो खतरा र विडम्बनालाई कुनै पनि हालतमा राम्रो मान्न सकिंदैन ।
राष्ट्रियता, सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्नु पत्रकारिता क्ष्Fेत्रको परम धर्म र कर्तव्य हो । राष्ट्रिय स्वार्थको रक्ष्Fा गर्न छाडेर पत्रकारिता जब व्यक्तिगत र विदेशी स्वार्थतर्फ उन्मुख हुन पुग्छ, पत्रकारिता बेकार हुन्छ । राष्ट्रियता र देशभक्तिका कुरामा पक्षधरता हुनुहुँदैन । राष्ट्रियता साध्य हो, सार्वभौम हो । सञ्चारमाध्यम निर्जीव वस्तु हो भने सञ्चारकर्मी सजीव हुन् । पत्रकारिता राज्यको चौथो अङ्ग हो भने साधनरूपी सञ्चारमाध्यमले साध्यरूपी राष्ट्रियताको संरक्षणमा सार्थक भूमिका निर्वाह गर्न अनिवार्य छ । विदेशी लगानीमा सञ्चालित सञ्चारमाध्यमहरूबाट देशभक्तिको असल पत्रकारिता हुनै सक्दैन । यतिखेर ध्येयमूलक असल पत्रकारितामाथि कुत्सित स्वार्थको प्रतिनिधित्व गरिरहेको व्यावसायिक पत्रकारिता न्याय र परोपकारका लागिभन्दा नाफाका लागि गरिन्छ ।
सत्य र न्यायको पक्षमा अडिग भएर निरन्तर कलम युद्ध गर्ने पत्रकारहरू शत्रुको हातबाट हत्या भएको पनि पाइन्छ । विभिन्न सहुलियत, सुविधाबाट वञ्चित भइरहेका हुन्छन् । ध्येयमूलक पत्रकारिता रोज्ने व्यक्तिहरू सिर्जनात्मक कार्य र परिवर्तनमा सक्रिय हुन्छन् । पत्रकारितालाई परिवर्तनको संवाहक शक्ति पनि मानिन्छ । यथास्थितिको क्रमभङ्गमा पत्रकारले सक्दो योगदान गर्न सक्दछ । पत्रकारितालाई अनौपचारिक शिक्षाको माध्यम पनि भनिन्छ । नेपालमा मिशन पत्रकारितामा लाग्नेको सङ्ख्या कम भएपनि उनीहरूले खेल्दै आएको भूमिका भने अति सकारात्मक देखिन्छ । सञ्चारमाध्यमका लगानीकर्ता मोटाउने र श्रमजीवी पत्रकारहरू दुब्लाउनु राम्रो सङ्केत होइन ।
हिजोआज नेपालमा युट्युबले अति बदनाम पनि गराएको छ । युट्युबका कारण पत्रकारिता क्ष्Fेत्रको सिद्धान्त, सत्यतथ्य, सन्तुलन र विश्वसनीयतामाथि नै चुनौती दिएको छ । भाइरलको नाममा पत्रकारिता अतिरञ्जित बन्न पुगेको छ । अनुमान र असम्भवलाई आधार मानेर समाचार लेखिनु कुप्रचार हो ।
वैज्ञानिक समाजवादी दर्शनमा आधारित भएर ध्येयमूलक पत्रकारिता गर्ने हो भने देश र जनतामा विद्यमान सबैखाले कुविचार, विकृति, विसङ्गति, भ्रष्टाचार, दुराचार, बेथिति सबैमा सकारात्मक सुधार ल्याउन सकिन्छ । व्यावसायिक पत्रकारिता होइन, जनपत्रकार बन्नुपर्दछ । ध्येयमूलक पत्रकारिता गर्नेलाई जनपत्रकार भनिन्छ । नेपालमा २०६३ को जनआन्दोलनपछि दलाल पूँजीवादी व्यवस्था कायम भएको छ । दलाल पूँजीवादी संसदीय व्यवस्था नेपालको हावा, पानी, माटो, देश, काल, परिस्थिति अनुकूल छैन । व्यावसायिक पत्रकारिता गर्नेहरू दलाल पूँजीवादको पक्षधर हुँदा विषम परिस्थिति आएको छ ।