नेपालमा जताततै अवरोधै अवरोध हुन्छ । खासगरी विकासको काममा झन् सा¥हो अवरोध भएको देखिन्छ । सडक बनाउँदा अवरोध, नाला बनाउँदा अवरोध, बिजुलीको पोल गाड्दा अवरोध, नहर बनाउँदा, सिंचाइ आयोजना खडा गर्दा, विद्युत् आयोजना बनाउँदा जता पनि अवरोध नै अवरोध देखिन्छ । यसरी विकासको काममा अवरोध हुन्छ भने देशले प्रगति कसरी गर्छ ? आखिर अवरोध हुन्छ किन ?

मुख्यतः हाम्रो मास–साइकोलोजी नकारात्मक छ । अवरोध गर्नु आफ्नो वर्चस्व देखाउनु हो भन्ने आम धारणा छ । कुनै काम नगर्ने, अरूले गरेकोमा आलोचना गरेर आफूलाई विज्ञ देखाउने मानसिकताबाट समाज रुग्ण छ । ठेकेदारले काम हात पार्छ, काम शुरू गर्न पेश्की रकम लिन्छ र चम्पत हुन्छ । दुई वर्षमा सम्पन्न गरिसक्नुपर्ने काम दश वर्षमा पनि सकिन्न । तबसम्म काम सम्पन्न भएर प्राप्त हुनुपर्ने प्रतिफल पर धकेलिन्छ, निरन्तर महँगिदो सामानले गर्दा चाहेर पनि ठेकेदारले गुणस्तरीय काम गर्न सक्दैन । पाँच वर्षमा सम्पन्न हुनुपर्ने काम बीस वर्ष लाग्छ र त्यसको उपयोग गर्न परीक्षण गर्ने क्रममा नै संरचना तहसनहस हुन्छ । यस्ता विकृतिहरूले आज देशलाई नराम्ररी गाँजेको छ ।

यो अवरोधको काम जनस्तरबाट मात्र हुँदैन, सरकार पनि यसमा त्यतिकै जिम्मेवार देखिने गरेको छ । कुरा पर्सा जिल्लामा वसन्तपुर टोलमा कालोपत्रे सडकमा बाँस गाडेर अवरोध गरेको कुरा मात्र होइन, हुलाकी सडकमा समेत केही रूख काट्ने अनुमति नपाउँदा सडककै उपहास हुने किसिमले कालोपत्रे भएको सडकमा रूख ठडिएको छ । कहीं बीच सडकमा बिजुलीको पोल ठडिएको छ, सरकार सडक बनाउँछ, पोल ठडिएकै हुन्छ । हुलाकी सडक ठोरीदेखि भरतपुर जोड्ने क्रममा चार वा आठ किलोमिटर मध्यवर्ती क्षेत्रमा अनुमति नपाएर वर्षौंदेखि निर्माण काम थन्किएको छ । यति काम भइदिएको भए आज त्यस सडक भएर कति सवारी साधन गुड्थे, कति सामान कम दूरी पार गर्दा ढुवानी खर्च बचत भएर उपभोक्ताको आर्थिक भार कम हुन्थ्यो । रूख काट्ने अनुमति नै नदिने हो, मध्यवर्ती क्षेत्र भएर सडक लैजानै नपाउने हो भने सरकारले किन सडक बनाउने अनुमति दियो ? सडक त बन्छ तर कानूनको रीत पु¥याएर । यो कस्तो कानून हो, जसले कामै गर्न दिंदैन ? कानून त काम गर्न सरल होस् भनेर पो बनाइन्छ, काममा बिघ्न पु¥याउन त पक्कै होइन ।

काममा अवरोध हाल्ने यस्ता कथाहरू यस देशमा बग्रेल्ती फेला पर्छ । कि कानूनको नाममा कि अधिकारको नाममा कि पारिस्थितिकीय प्रतिकूलताको नाममा हाम्रो मानसिकता अवरोध सिर्जना गर्नमा सीमित भएको पाइन्छ । कानून भएर पनि कानूनविहीनताको अवस्था उदेकपूर्ण छ । एउटै कानूनलाई सबैले आफ्नो स्वार्थ अनुकूल व्याख्या गर्दछ । कुनै सरकारी कार्यालयमा गयो भने उसले अजङ्गको कानूनी सहुलियत देख्दैन, झिनो अवरोध देखाएर सास्ती दिन्छ । त्यसैले होला कुनै भूगोलमा कुनै भाषामा नभएको उखान नेपालीमा फेला पर्छ–हात्ती छि¥यो पुच्छर अड्क्यो । अजङ्गको हात्ती छिर्न सक्ने तर पुच्छर अड्कने व्यवहार नेपालबाहेक अन्त शायद नै होला । तर नेपालमा जहाँ पनि यो उखान फलीभूत देखिन्छ । यसैले कानूनले जति रोए पनि, जति कराए पनि ठग, चोर, डाँका, तस्करहरूले सहजै नेपाली नागरिकता पाउँछन् तर पुस्तौंदेखि यस देशको सेवा गरेर बसेका नागरिकका सन्तानले नागरिकता पाउँदैनन् । अवरोध पु¥याउनु नै राष्ट्रिय चरित्र जो हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here