प्रस, वीरगंज, १३ चैत/

पर्सा जिल्लाको मध्यमा पर्ने पोखरिया नगरपालिकामा नयाँ किसिमको विकासको मोडेल देखिएको छ । पोखरिया नगरपालिकाका प्रमुख दीपनारायणप्रसाद रौनियारकै सक्रियतामा पोखरिया–लङ्गडी सडकखण्डको वसन्तपुर टोलमा बीच सडकमैं बाँसको खम्बा गाडेर सडक कालोपत्र गर्ने योजनालाई ठप्प पारिएको छ ।

सडकमा करीब १३ फिट निजी जग्गा परेको भन्दै वसन्तपुरका कपिलराउत अहिरले विगत आठ महीनादेखि उक्त सडकखण्डमा खम्बा गाडेर बाँसको टाटी लगाएका छन् । जग्गा कब्जा गर्नको लागि यस्तो गरिएको उनले बताए ।

पोखरिया नपा–३ वसन्तपुरका वडाध्यक्ष अजय कुमारले सडकमा निजी जग्गा परेकोले जग्गाधनीले सडक कब्जा गरेर खम्बा गाडेको बताउँदै उक्त समस्या समाधानको लागि सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताए । उनले जग्गाधनीले तीन दशकभन्दा अगाडिदेखि पोखरिया–लङ्गडी सडकमा कुनै विवाद सिर्जना नगरेको तर अहिले एक्कासि आएर नक्शा अनुसार सडकमा जग्गा भएको भनिरहेको बताए ।

यस विषयमा सम्बन्धित निकाय मधेस प्रदेश सरकार मातहतको वीरगंजस्थित भौतिक पूर्वाधार विकास कार्यालय, पोखरिया नपा, ठेकेदार र गाउँलेबीच पटक–पटक छलफल हुँदा पनि समस्या समाधान भएको छैन । बीच सडकमैं खम्बा गाडिएपछि पोखरिया, लङ्गडी, भलुवाही, मिर्जापुर तथा भिस्वा भएर आउजाउ गर्ने सवारीसाधनलाई समस्या भइरहेको छ ।

उक्त सडक भएर आउने बस, ट्रक, ट्याक्टरलगायत सवारीसाधनलाई वसन्तपुरस्थित साँघुरो बाटो पार गर्न कठिन भइरहेको छ । भौतिक पूर्वाधार विकास कार्यालयले पोखरिया, भलुवाही, मिर्जापुरसम्म १२ किलोमिटर सडक कालोपत्र गर्न रु १४ करोड २९ लाखमा रोशन, रञ्जन, समा जेभीलाई ठेक्का दिएको छ भने सबैठवा, भिस्वा, जयमङ्गलापुर, सम्भौता, मिर्जापुर सडकखण्डको लागि रु १८ करोड ११ लाखमा सोही जेभी कम्पनीले ठेक्का पाएको ठेकेदार कम्पनीका सुरेश सहनीले बताए ।

कालोपत्र काम ८० प्रतिशत सम्पन्न भए तापनि अहिले काम सुस्त गतिमा भइरहेको छ । बीच सडकमैं खम्बा गाडिएपछि काममा अवरोध सिर्जना भएको ठेकेदार पक्षको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here