प्रस, परवानीपुर, १२ चैत/
मधेस प्रदेश मातहतको यातायात व्यवस्था कार्यालय, सवारी शाखा वीरगंजले आठ महीनामा एक अर्ब छ करोड राजस्व सङ्कलन गरेको छ ।
चालू आवको गत साउनदेखि फागुन मसान्तसम्म आठ महीनाको अवधिमा कार्यालयले एक अर्ब छ करोड ५१ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख कुशेश्वर साहका अनुसार यातायात क्षेत्रको आम्दानी ५५ हजार, प्रशासनिक दण्ड जरिवाना र जफतबाट २६ हजार, सवारीसाधन करबाट ८८ करोड ७० लाख २२ हजार र चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत १२ करोड ६६ लाख ५५ हजार गरी कुल एक अर्ब छ करोड ९१ लाख ३४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
त्यसैगरी, गत फागुनमा यातायात क्षेत्रको आम्दानी शीर्षकमा ७३ लाख २० हजार, सवारीसाधन कर पाँच करोड ५९ लाख ७५ हजार, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत एक करोड ३९ लाख चार हजार गरी कुल नौ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
त्यसैगरी, गत माघसम्म सो कार्यालयले रु ९७ करोड १९ लाख ३४ हजार राजस्व सङ्कलन गरेको थियो । जसमा यातायात क्षेत्रको आम्दानी चार करोड ८१ लाख १० हजार, प्रशासनिक दण्ड जरिवाना, जफतबाट २६ हजार, सवारीसाधन करबापत ८१ करोड १० लाख ४६ हजार र चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट ११ करोड २७ लाख ५० हजार गरी कुल ९७ करोड १९ लाख ३४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
त्यसैगरी, गत आव २०७७/७८ मा ८३ करोड ७३ लाख ४७ हजार मात्र राजस्व सङ्कलन भएको थियो । गत आवमा करीब चार महीना कोरोना महामारीको कारण कार्यालयको काम प्रभावित हुँदा राजस्वमा कमी आएको थियो ।
गत वर्षको १२ महीनामा कार्यालयले सङ्कलन गरेको कुल राजस्वमा यातायात क्षेत्रको आम्दानीबाट चार करोड ६७ लाख ५८ हजार, प्रशासनिक दण्ड जरिवानाबाट ५० हजार, सवारीसाधन करबाट ५९ करोड २५ लाख ८९ हजार र चालक अनुमतिपत्र, सवारी दर्ता किताबबाट ९ करोड ७९ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।