प्रस, सेढवा, १२ चैत/
मधेस प्रदेश सरकारले शनिवार दूधेश्वरनाथ मन्दिर भाठाधामलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरेको छ ।
पटेर्वासुगौली गाउँपालिका अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलमा अवस्थित भाठाधामको धर्मशालामा आयोजित घोषणा कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दीले भाठाधामलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरे ।
भाठाधामको विकासका लागि प्रदेश सरकारले पाँच करोड रुपैयाँको योजना ल्याउन् प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री गद्दीले भारतका अन्य धामको भ्रमणभन्दा यही धामलाई प्राथमिकतामा राख्न आग्रह गरे । राष्ट्रिय निकुञ्ज प्रशासन तथा सरोकारका अन्य निकायसँग समन्वय गरी यस धामको विकासमा प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री गद्दीले बताए ।
यस धार्मिक पर्यटकीय क्षेत्रको विकास, संरक्षण तथा प्रवद्र्धनका लागि तीनै तहका सरकार र समिति एक जुट भएर अगाडि बढ्नुपर्ने जरुरी रहेको मुख्यमन्त्री गद्दीले बताए । श्री श्री १०८ दूधेश्वरनाथ मन्दिर निर्माण तथा संरक्षण समितिको अध्यक्ष अलखदेवप्रसाद थारूको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र साह, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुघ्न महतो, प्रदेश सांसद मन्सुर अन्सारी, करिमा बेगम, भीमा यादव, पूर्वमन्त्री मोहनलाल चौधरी, जसपाका केन्द्रीय सदस्य टेकबहादुर शाक्य, पटेर्वासुगौली गापाका अध्यक्ष हरिनारायण चौधरी, उपाध्यक्ष ममता महतो, सामाजिक अभियन्ता प्रकाश थारूलगायतले मन्तव्य व्यक्त गरेका थिए ।