प्रस, वीरगंज, ११ चैत/
मुख्यमन्त्री लालबाबूराउत गद्दीले निष्पक्षरूपमा समाचार सङ्कलन गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन् ।
शुक्रवार मधेस प्रदेश मिडिया काउन्सिल, जनकपुरले वीरगंजमा आयोजना गरेको सञ्चारमाध्यम र पत्रकार आचारसंहिता निर्माणसम्बन्धी एक दिने सुझाव सङ्कलन गोष्ठीमा उनले सञ्चार क्षेत्रलाई व्यवस्थित तथा सञ्चारकर्मीलाई दक्ष बनाउन प्रदेश सरकार अगाडि बढेको बताए ।
उनले सञ्चार गृह तथा सञ्चार क्षेत्र बलियो बनेमा मात्र प्रदेश सरकार पनि बलियो हुने बताए । उनले यस क्षेत्रलाई बलियो बनाउन महासङ्घले उठाएको माग जायज भएको बताए ।
मुख्यमन्त्री गद्दीले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकारले प्रदेश मिडिया काउन्सिल तथा आमसञ्चार प्राधिकरण गठन गरेको र ती दुवै संस्थासँग समन्वय गरी महासङ्घ अगाडि बढे सहयोग गर्ने बताए । मुख्यमन्त्री गद्दीले चाँडै नै प्रदेश सरकारले सञ्चारकर्मीहरूलाई स्वास्थ्य बीमा तथा राहत वा पेन्सनको व्यवस्था गर्न लागेको बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सञ्चार क्षेत्रको विकासको लागि प्रदेश सरकार लागिपरेको बताए । उनले कर्मचारी अभावका कारण काम रोकिएको बताउँदै प्रदेश सरकारले कर्मचारी भर्ना गरी सो काम पूरा गर्ने बताए । उनले अहिले सञ्चार क्षेत्र समाजप्रतिको दायित्वलाई बिर्सेर पार्टीगतरूपमा अगाडि बढेकोमा दुःख व्यक्त गरे । मन्त्री साहले सञ्चारकर्मीहरूलाई कुनै पार्टीको पक्ष नलिई निष्पक्षरूपमा काम गर्न महासङ्घले पहलकदमी गर्नुपर्ने बताए । उनले आफूखुशी सञ्चार गृह स्थापना गरी रिस साध्न समाचार लेख्ने प्रवृत्ति तत्काल रोक्नुपर्नेमा जोड दिए ।
उद्घाटन सत्रमा पत्रकारहरूले प्रदेश सरकारको कामकारबाईप्रति दुःख व्यक्त गरेका थिए । प्रदेश सरकारले सञ्चारकर्मी तथा सञ्चार गृहलाई सहयोग गर्नुपर्नेमा उनीहरूको जोड थियो । उनीहरूले पत्रकारको भूमिकाका कारण देशमा परिर्वतन भएको, सङ्घीयता, गणतन्त्र आएको तर स्थानीय, प्रदेश तथा सङ्घ सरकारले पत्रकारहरूलाई पेल्न खोजेको आरोप लगाए ।
काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको अध्यक्ष्Fतामा भएको कार्यक्रममा महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहान, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, प्रदेश अध्यक्ष राजेश कर्ण, महासचिव श्याम बन्जारा, आरसी यादव, अनुप तिवारी, रेशम तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन काउन्सिलकी सदस्य वन्दना झाले गरेकी थिइन् ।
कार्यक्रममा बारा, पर्सा, रौतहटका सञ्चारकर्मीहरूको सहभागिता थियो ।