प्रस, वीरगंज, ११ चैत/

नारायणी अस्पताल वीरगंजमा तीन वर्षदेखि बन्द रहेको सिटी स्क्यान सेवा पुनः सुचारु भएको छ । नेपाल सरकारको अनुदानमा आएको सिटी स्क्यान मेशिन जडान भएर सेवा दिन थालेको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहका अनुसार टेन्डरमार्फत खरीद गरिएको सिटी स्क्यान जडान भएर सेवा शुभारम्भ गरिएको हो । उनका अनुसार मूअकबाहेक रु ४ करोड ३४ लाखमा टेन्डर प्रक्रियाबाट खरीद गरिएको ‘८० स्लाइस’ क्षमताको सिटी स्क्यान शुरू भएको हो । उक्त सिटी स्क्यान काठमाडौंको लुम्बिनी हेल्थकेयर प्रालिबाट खरीद गरिएको हो ।

सिटी स्क्यान सेवा सञ्चालन नहुँदा नारायणी अस्पतालले सिटी स्क्यानकै लागि बिरामीलाई अन्य अस्पतालमा रेफर गथ्र्यो । अब सो कार्य रोकिएको तथा नारायणी अस्पतालमा सस्तोमा सिटी स्क्यान हुने भएकोले अन्य अस्पतालका बिरामीहरू पनि नारायणी अस्पतालमा आउने अस्पताल प्रशासनको दाबी छ ।

अन्य अस्पतालभन्दा नारायणीमा रु एक हजार कम शुल्कमा सिटी स्क्यान हुने भएकोले आगामी दिनमा सिटी स्क्यान गराउनेहरूको चाप बढ्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले जानकारी गराए । उनका अनुसार बाहिरका अस्पतालले टाउकोको सिटी स्क्यान रु चार हजार ३०० मा गर्छन् भने नारायणी अस्पतालमा उक्त सेवाको शुल्क रु तीन हजार ५०० रहेको छ ।

त्यसैगरी, छाती र पेटको सिटी स्क्यान अन्य अस्पतालमा साढे छ हजारदेखि सात हजार रुपैयाँमा हुने गरेकामा नारायणी अस्पतालमा साढे पाँच हजारमैं हुन्छ ।

यसअघि, स्वास्थ्य विभागले २०७१ सालमा दिएको १६ स्लाइसको सिटी स्क्यान २०७५ सालमा बन्द भएको थियो । सिटी स्क्यान मेशिन नहुँदा दैनिक ५–१० जना बिरामी सिटी स्क्यान गराउनकै लागि वीरगंजका निजी अस्पताल चहार्नुपर्ने समस्या थियो ।

आकस्मिक कक्षमा पनि प्रयोगशाला स्थापना

नारायणी अस्पताल, वीरगंजको आकस्मिक कक्षमा छुट्टै प्रयोगशाला सञ्चालनमा आएको छ ।

आकस्मिक शाखाका डा दीपक चौरसियाका अनुसार पछिल्लो चार वर्षदेखि अस्पतालको पश्चिमपट्टि रहेको क्वार्टरनजीकको प्रयोगशालाबाट सेवा दिंदै आए तापनि आगामी दिनमा बिरामीहरूको सुविधालाई मध्यनजर गर्दै आकस्मिक कक्षमैं बिरामीहरूको लागि छुट्टै प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

उनले आकस्मिक कक्षमा दैनिक डेढ सयदेखि दुई सय बिरामीको तुरुन्तै प्रयोगशालासम्बन्धी रिपोर्ट चाहिने भएकोले आकस्मिक कक्षमैं ल्याब स्थापना गरिएको प्रस्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here