प्रस, सेढवा, ११ चैत/
नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले सोझासाझा जनता तथा देशप्रति गद्दारी गर्ने भ्रष्टाचारी नेताहरूलाई जनताले चिन्नुपर्ने बताएका छन् ।
जीराभवानी गाउँपालिका–३ नौकाटोलाको खेलमैदानमा आयोजित आमसभामा उनले देशमा विभिन्न शासन, व्यवस्था पार गर्दै सङ्घीयता आए पनि भ्रष्ट नेताका कारण नागरिकहरूको अवस्था दिनहुँ खस्किंदै गइरहेको बताए । उनले राज्यको जुन पनि शासन व्यवस्थामा नेताहरू मोटाउँदै गएको आरोप लगाए । उनले राजनीतिक दलले सरकारमा गई सर्वसाधारणलाई कुनै न कुनै तरीकाबाट दमन, शोषण गरेकै कारण देशको आर्थिक अवस्था कमजोर भई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल सबैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा परेको बताए । उनले अहिले एउटा बच्चा जन्मिनेबित्तिकै उसको टाउकोमा ४५ हजार रुपियाँ ऋण हुने गरेको बताए ।
अध्यक्ष खरेलले देशमा सुशासन कायम गर्न नेपाल सुशासन पार्टीको आवश्यकता रहेको बताए । उनले यो पार्टीको उद्देश्य नै भ्रष्टाचारी, घूसखोरी, गुण्डागर्दी, तस्करी, दलाली गर्ने नेतालाई पाखा लगाउने बताउँदै यो काम पर्सा जिल्लाबाट सुरुआत गरिने बताए ।
उपाध्यक्ष राजकुमार यादवले सात प्रदेशमध्ये मधेस प्रदेशमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख रहेको बताए । नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, मधेसवादीलगायत दलका नेताहरूले जनतालाई हकअधिकार नदिएको आरोप लगाए । सर्वसाधारण कुनै पनि कार्यालयमा आफैंले सेवा लिन सक्ने अवस्था नरहेको हुँदा नेताका दलालहरूबाट ठगिनुपरेको बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य राजेश श्रेष्ठ, पर्सा अध्यक्ष मधुसूदन चौरसिया, कोषाध्यक्ष तैयाज अहमद, लालबाबू राम, कविता चौधरी, प्रभुराउत कुर्मी, हरिन्द्र सहनी, विणा देवी, राजकुमार साह, सुरेश चौबेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्रदीप चौधरीले गरेका थिए ।