- उमाशङ्कर द्विवेदी
हरे, दुर्बुद्धि, खाने–पिउने पर्याप्त हुने ठाउँमा पो तिमी बस्नुपर्दछ, युद्धमा मेरोसामु तिमीले आफ्नो मुख देखाउनुहुँदैन । तिमी त फल, मूल खान तथा व्रत–नियम आदिको पालना गर्नमा अवश्य कुशल छौं तर युद्ध गर्न तिमीले जान्दैनौ । कहाँ मुनि वृत्ति र कहाँ युद्ध । भाइ, तिमीलाई युद्ध गर्ने धैर्य छैन, तिमी त वनमैं रहेर प्रसन्न रहन सक्दछौ । त्यसैले तिमी वनमैं जाउ र तिमीले युद्ध नै गर्नु छ भने अन्यसित भिड्न जाती हुन्छ । म जस्तो वीरको सामु तिमी जस्तो मान्छे पर्नु शोभा दिंदैन । म जस्तो मान्छेसित भिड्दा यस्तै वा अझै योभन्दा पनि बढी दुर्गति हुनेछ । अब तिमी या त कृष्ण र अर्जुन भएको ठाउँमा जाउ, उनीहरूले तिम्रो रक्षा गर्नेछन् अथवा घर गई हाल । बाबु, युद्ध गरेर तिमीले के नै पाउनेछौ ?
कर्णको यस्तो कठोर वचन सुनेर भीमसेनले सबै योद्धाको सामु हाँस्दै भने–रे दुष्ट, मैले तिमीलाई कैंयनपटक परास्त गरेको छु, कुन मुखले तिमी यति बोलिरहेका छौ । हाम्रा प्राचीन पुरुषहरूले पनि जय पराजय त इन्द्रको पनि हेर्दै आएका छन् । रे अकुलीन, अहिले पनि तिमीले मसित मल्लयुद्ध गरेर हेर । जसरी मैले महाबली र महाभोगी कीचकलाई पछारेको थिएँ, त्यसै प्रकार यी जम्मै राजाको सामु नै तिमीलाई पनि कालको गाँस बनाइदिनेछु ।
बुद्धिमान् कर्ण भीमसेनका यस्ता शब्दहरूको अभिप्राय बुझेर सबै धनुर्धरको सामु नै युद्धभूमिबाट हटिहाले । भीमसेनलाई रथहीन पारेर कर्णले अर्जुन र श्रीकृष्णको सामु नै यस्ता भन्ने नभन्ने कुरा गरेपछि श्रीकृष्णको प्रेरणाबाट अर्जुनले उनीमाथि कैंयन बाण हाने । ती गाण्डीव धनुषबाट हानिएका बाणहरू कर्णको शरीरभित्र छिरे । त्यसबाट पीडित भएर कर्ण बडो तीव्रताका साथ भीमसेनको सामुबाट भागिहाले । अनि भीमसेन सात्यकिको रथमाथि सवार भएर भाइ अर्जुनको छेउमा आए । यसैबेला अर्जुनले बडो फुर्तीका साथ कर्णलाई लक्षित गरेर कामको समान कराल बाण हाने तर त्यसलाई अश्वत्थामाले बीचमैं काटिदिए । अनि अर्जुन कुपित भएर अश्वत्थामामाथि चौसट्ठीवटा बाण हानेर उनलाई घाइते पारिदिएर कराउँदै भने– पख पख, न भाग । तर अर्जुनको बाणबाट व्यथित भएर अश्वत्थामा रथबाट भरिएको मत्त हात्तीको सेनाभित्र छिरिहाले । अर्जुनले आफ्ना बाणबाट त्यस सेनालाई व्यथित पार्दै केही परसम्म उनलाई पछ्याए पनि । यसपछि उनी अनेकौं हात्ती, घोडा र मानिसहरूलाई विदीर्ण पार्दै त्यस सेनाको संहार गर्न थाले ।
राजा धृतराष्ट्र भन्न थाले– सञ्जय, मेरो देदीप्यमान यश दिनानुदिन मन्द पर्दै गइरहेको छ, मेरा अनेक योद्धाहरू पनि मारिइसकेका छन् । यसलाई मेरो समयको फेर नै मान्नुपर्दछ । अब मलाई लागिरहेको छ कि जयद्रथ अब जीवित छैनन् । लौ, त्यो युद्ध जसरी अगि बढिरहेको छ, त्यसको यथावत् वर्णन गर । जो त्यस विशाल वाहिनीलाई एक्लैले परास्त गरेर भित्र छिरिसकेका छन, त्यस सात्यकिको युद्धको तिमीले यथावत् वर्णन गर ।
सञ्जयले भने– राजन्, सात्यकि आफ्नो श्वेत घोडा जोतिएको रथमाथि बसेर बडो जोडले गर्जना गर्दै गइरहेका थिए । तपाईंका सबै महारथी मिलेर पनि उनलाई रोक्नमा सफल हुन सकेनन् । यतिबेला राजा अलम्बुष उनको सामु आएर उनलाई रोक्ने प्रयत्न गर्न थाले । महाराज, ती दुवै वीरबीच जस्तो संग्राम भयो, त्यस्तो कहिले पनि भएको थिएन । त्यति बेला दुवै पक्षका योद्धाहरू उनीहरूकै युद्ध हेर्न थाले । अलम्बुषले सात्यकिमाथि बडो जोडले दशवटा बाण हाने तर सात्यकिले त्यसलाई बीचमैं काटिदिए । अनि उनले कानसम्म धनुष तानेर सात्यकिमाथि तीनवटा बाण हाने । ती बाणहरू उनको कवचलाई च्यातेर शरीरभित्र छिरिहाले । अनि चारवटा बाण हानेर अलम्बुषले सात्यकिका घोडाहरूलाई पनि घाइते पारिदिए । सात्यकिले पनि चारवटा बाण हानेर अलम्बुषका घोडाहरूलाई मारिदिए तथा एउटा भल्ल हानेर उनको सारथिको टाउको काटेर अलम्बुषको कुण्डलमण्डित टाउकोलाई गींडबाट अलग्याइदिए ।
यस प्रकार अलम्बुषलाई सिध्याएर सात्यकिले तपाईंको सेनालाई चिर्दै अर्जुनतिर बढ्न थाले । उनी जसै त्यस अपार सैन्यसमुद्रमा प्रवेश गरे कि अनेकौं त्रिगत्र्त वीरहरू उनीमाथि जाइ लागेर उनलाई चारैतिरबाट घेरामा हाली बाणको वर्षा गर्न थाले तर सात्यकिले कौरवसेनाभित्र पसेर एक्लैले पचासजना राजकुमारलाई परास्त गरिदिए । त्यति बेला ती महान् शूरवीर नृत्यझैं गरिरहेका थिए र एक्लै भएर पनि एक सय रथीको समान कहिले पूर्व, कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिण दिशामा देखा पर्दथे । उनको यस्तो पराक्रमलाई हेरेर त्रिगत्र्त वीर सैनिकहरू आत्तिएर भागिहाले । अब शूरसेन देशका योद्धाहरू बाणको वर्षा गर्दै उनलाई अगि बढ्नबाट रोक्न थाले । उनीहरूसित केही बेरसम्म मुकाबिला गरेर उनी कलिङ्गदेशीय योद्धाहरूसित भिडे । केही बेरमा दुस्तर कलिङ्गसेनालाई पार गरेर उनी अर्जुनको छेउमा पुगे । जसरी जलमा तैरेका मानिस स्थलमा पुगेर सुस्ताउन थाल्दछ, त्यसै प्रकार अर्जुनलाई हेरेर पुरुषसिंह सात्यकिलाई बडो शान्ति प्राप्त भयो ।
क्रमशः…