• सञ्जय मित्र

अचम्म त त्यत्तिखेर लाग्यो, जतिखेर उसले प्रश्न ग¥यो कि निश्शुल्क त सबैलाई भयो तर हामीलाई विशेष सुविधा किन दिइएन ?

कुरो अलिक पुरानो हो । अधिकार खोज्ने बेला थियो । सबैले जताततै अनेक आधार खोज्ने र त्यस आधारमा अधिकार खोज्ने गर्थे । अधिकार खोज्नलाई आधार भए पुग्छ ।  अधिकारलाई पनि आधार चाहिने रहेछ । निराधार त अधिकार पनि हुन सक्दैन ।

बाउको धन नखाने किरिया खाएको एक साउले साउने झरीमा बाउ परमधाम प्रस्थान गरेपछि बाउको धन दानमा प्रदान गर्न थालेछन् । उसको मान्यता थियो अक्षमले मात्र बाउको धन हजम गर्छ । सक्षमले आफ्नै परिश्रम खान्छ ।

मनको घाउ निको पार्न साउले बाउको सम्पत्ति दुवै दम्पती पहिलेको रीति भाँड्नलाई बाँड्न थालेछन् । सित्तैमा पाए त अलकत्रा पनि खाने हाम्रो समाज न हो । सबै सर्जाम ठीकठाक पारेपछि टिकटकका एक भिखारीबाट कार्यक्रमको उद्घाटन गराएछन् । भिखारीलाई भनिएछ– सक्ने जति बोक अनि कुलेलम ठोक ।

नियम नै यही बन्यो ।

स्टक रहुन्जेल पटकपटक नगरी एकपटकमा जति बोक्न सक्यो बोकेर जाने । दोहो¥याएर आउन नपाउने ।

घरको छेउमा बारीनेर बाँसघारी छ । बाउको सबै सम्पत्ति बेचेर अन्न किनेछन् । किनिएको अन्न टन्न भएछ । त्यो टन्न अन्न चामल थियो । घरको लागि सामल थियो । त्यहीनेर ठूलो अक्षरमा लेखिएको छ– चाहिए जति लानुहोस् ।

कार्यक्रम शुरू भयो । भन्नुको मतलब जसलाई जति चाहिएको थियो, उसले त्यति लान शुरू गरे ।

बोरामा चामल अनि झोलामा आलु, मसुरोको दाल, नूनको पोका यस्तै जे जे मन लाग्थ्यो, लैजान पाउने पूरा छुट थियो ।

शर्त थियो– दोहो¥याएर कोही आउन नपाउने अर्थात् दोहो¥याएर कोही सामान लैजान नपाउने । अन्यथा अर्थ नलागेमा चाहिए जति लानुहोस् तर एकपटक मात्र ।

बडा गज्जबको तरीका अपनाइएको थियो । सकी नसकी चामल र सामलको भारी बोकी कुलेलम ठोकी खोज्नेहरूको अनुहारमा रातो वा कालो रङ्ग पोतिन्थ्यो । हो, चुनावको बेला नङमा लगाइने रड्ढो नमूना जस्तै ।

दुईथरीका रड्ढो ढङ्ग किन बन्दोबस्त गरिएको थियो भने कोही भन्दथे कि रातोदेखि मलाई एलर्जी छ भने कोही भन्दथे कि कालोदेखि मलाई एलर्जी छ । कुनै एक रङले आफ्नो अनुहार एक ढङ्गको बनाउन पाउँथे । रातो अनुहार हुने बाँदर र कालो अनुहार हुने ढेडु भनेझैं अनुहारहरू रङ्गिदै गए ।

खीर खाने वीरलाई गुलियोको पीर ? भनेझैं कतिपय नारी रङ्गीबिरङ्गी सारीमा सामलको भारी बोकेर अनुहारमा कालो पोती घरतिर आएका थिए । कतिपय पुरुष चाहिं कुर्ताको सुर्ता नगरी आफ्नो दामी अनुहारमा नामी कालो पोतेर भारीको सुनामी बोकी आफैंलाई थिच्दै, आफ्नो बलको सीमालाई मिच्दै घरतिर आएका थिए । दिउँसो हुँदै जाँदा गाउँमा बढो रमाइलो दृश्य हुँदै गएको थियो । गाउँको अनुहार नै रातो र कालोमा बदलिएको थियो । गाउँमा मानौं कालो अनुहारले कसैको विरोध गरेको थियो भने रातो अनुहारले क्रान्ति गरेको थियो । अनुहारको मामिलामा गाउँमा साम्यवाद आएको थियो । बच्चा, बूढा अनि जवान सबैको अनुहार दुई समान ।

कोही किन अनुहार धोइरहेका थिएनन् । एक कारणले अनुहारमा रङ धारण गरेका थिए सबैले । कारण थियो– पोतिएको अनुहारमध्ये उत्कृष्ट दश अनुहारलाई अकल्पनीय पुरस्कार दिइनेछ ।

कालो रङ मन पराउने एउटाले अनुहार पोताउने बेलामा बखेडा झिक्यो । उसको भनाइ थियो– जानीजानी मेरो अनुहारमा हल्का कम कालो पोतेको हो । अनुहार पोत्ने मानिसलाई बर्खास्त गर्नुप¥यो । अनुहार कालो बनाउनमा उसले विभेद गरेको हो, राजनीति गरेको हो । आफ्नो मानिसलाई बढी कालो अनुहार बनाउने गलत मनसाय राखेको हो ।

त्यहाँ ऐना थिएन । तर पनि उसलाई कसरी थाहा भयो कि उसको अनुहारमा कालो पोत्न विभेद गरेको हो ? सोध्दा उसले जवाफ दियो– आफ्नो अनुहार म आफैं देख्छु । एकचोटि कालो पोतेर मेरो अनुहार कालो भएन । कम्तीमा दुईचोटि मेरो अनुहार पोत्नुपर्छ । हैनभने आफ्नै मुहारमा कालो दल्ने व्यवस्था हुनुपर्छ ।

मनसाय स्पष्ट थियो– अकल्पनीय पुरस्कार आफूले पाउनुपर्छ ।

अर्को एकजना अलिक लम्केर करायो बम्केर– चम्केर हुँदैन । निश्शुल्क अन्न उसले टन्न लान पाएको छ, जो खूब खाएको छ । जन्मनुभन्दा पहिलेदेखि नै पेटभरि खान नपाएकाहरूले न त खोक्न पाएका छन् र न त बोक्न नै । निश्शुल्क वितरणको अवतरण समावेशी हुनुपर्छ ।

म्याउटे बोलीका ख्याउटेले बोल्यो । सबैले उसलाई भन्ने गर्दथे– बोल्यो कि पोल्यो । आफ्नो भागको उसले आगो ओकल्यो, त्यसरी जसरी बान्ता गर्दा पेटको प्रिय भोजन धरणीमा समिट गर्छन् सर्वसाधारण । “बालबालिका, बिरामी, दलित र सुत्केरीको लागि निश्शुल्क छुटमा विशेष लुटको व्यवस्था गर्नुपर्छ ।”

छुटमा लुट त पहिलेदेखि सुनेको थिएँ । निश्शुल्कमा पनि छुट हुनुपर्ने । चाहिए जति लानुहोस् भन्दा पनि समावेशी हुनुपर्ने । अयोग्यलाई ठाउँ नदिएको रे, वञ्चित गरिएको रे ।

चाहिए जति लानुहोस् कार्यक्रममा बलियोले बोक्छ र निर्धोले खोक्छ । यहाँ बुद्धिभन्दा बल बलियो हुन्छ । यस कारण बुद्धिको शुद्धि हराउँछ र बुद्धिले केवल कराउँछ तथा बोक्नदेखि डराउँछ । जो डर गया सो मर गया । र शहरमा रहरले डरको कहर कसैले पाल्दैन, गाउँमा कसैले फाल्दैन ।

चार बुद्धिवालले जति एक्लो बलबालले आरामले बोकेर नजीकै पुगी बुद्धिवालसित जिस्क्यो– खूब भन्थिस्, बलभन्दा बुद्धि ठूलो हुन्छ, तेरो बुद्धिले बोकेर देखा । बुद्धिले गर्न नसकेको काम बलले मात्र गर्न सक्छ ।

निश्शुल्कमा पनि विशेष छुट र समावेशीको नाममा आरक्षण मागेको कुरो अपूरो भएपनि चुरो नै पुग्यो साउकोमा । साउले संवादकलाई भने– मेरा बाउ सरकारी थिएनन्, प्राइभेट थिए । अनि किन सरकारी आरक्षण र समावेशीको कुरो ?

कि मेरो बाउलाई कसैले आरक्षित बाउ वा समावेशी बाउ, समानुपातिक बाउ मानेका छन् ? बाउको पाउ धरणीमा रहुन्ज्याल कुनै स्यालले ख्यालख्यालमा पनि ¥याल काढेको सुनेको छैन । म आफ्नो बाउको आर्जन वितरण परिमार्जन गर्दिनँ । बुबाको इच्छा हो, कसैको भिक्षा होइन यो ।

संवादकले गएर यही कुरो बतायो– कतैबाट घोकेको कुरा यहाँ नखोके हुन्छ, सकेको नबोके कुलेलम ठोके हुन्छ ।

दानको मान गर्न हो कि आफ्नै सम्मानको अपमान गर्न हो, समावेशी लुट गर्न खोज्नेहरू धुरुधुरु रोएनन्, लुरुलुरु लस्किए एकातिर । कुन ठाउँमा कुन दाउ लगाउँदा शेषमा रहेको विशेष पुरस्कारको उपहार पर्ला भन्ने सोच्दै ।

अकल्पनीय पुरस्कारको कल्पना सपनामा पनि नगर्नेको पुर्पुरोमा प¥यो । नौजना अभागीले त उब्रेको चामल, मोटरसाइकल, गाई, गोरु, रकम, चाँदी, सुन, खेत र घडेरी पाए । जो सबैभन्दा कालो थियो, अभागीहरूमा पनि अभागी थियो, उसले पायो दाताको बाउको भव्य भवन । अनि भयो एकाएक भाग्यमानी । अभागीले भाग्य पाउँदा पनि विश्वास गर्दैन ।

पहिलेदेखि गाउँमा एउटै धनी थियो उसको बाउ । अब दुई धनी भए– बाँड्ने र माग्ने ।

नपाउने त कोही थिएनन् । जब गाउँमा कसैले केही निश्शुल्क बाँड्न थाल्छ, तब सरकारी धन भन्ठानेर अधिकार ठान्नेहरू सबै भइहाल्छन् । जति चित्त बुझाए पनि केहीको चित्त बुझ्दैन । उनीहरू अझै पनि हल्ला गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here