वीरगंज महानगरपालिका–१५ लक्षमणवाका सम्भ्रान्त ब्राह्मण परिवारका हुन् पुरुषोत्तमलाल झा । विद्यार्थी उमेरदेखि नै राजनीतिको रौस जाग्यो । पञ्चायतकालदेखि नगरमा चुनाव लड्दै चारपटक वडा अध्यक्ष बनेका र राजा ज्ञानेन्द्रको शासनकालमा भएको निर्वाचनमा उपमेयर पदमा विजयी भएका झा भने यसपालि महानगरको मेयर पदका उम्मेदवार बनेका छन् ।
२०१३ सालमा जन्मेका झाले बीकमसम्म अध्ययन गरेका छन् भने किसान परिवारका उनका तीन छोरा र दुई छोरी छन् । लामो समयसम्म राजनीति गरेका उनले यस समयावधिमा विभिन्न राजनीतिक दलबारे व्यक्तिगत अनुभव पनि सङ्गालेका छन् । सम्प्रति उनी मधेसवादी दल लोकतान्त्रिक समाजवादी पार्टीमा संलग्न छन् । नेतृत्वप्रति विश्वास राख्ने र निर्देशनविपरीत नजाने आफ्नो स्वभावका कारण आजसम्म उच्च पदमा निर्वाचन नलडेको बताउने पुरुषोत्तम झा स्वभावले दबङ्ग, इमानदार, जनतामा लोकप्रिय तथा अन्तर्मुखी प्रवृत्तिका छन् ।
नेपालको विभिन्न राजनीतिक कालखण्डमा कुनै न कुनै राजनीतिक दलमा समावेश रहेका झा २०४६ सालपछि गठित राष्ट्रिय प्रजातन्त्र पार्टीमा समावेश थिए । तदनुपरान्त देश, भूगोल र जनताको चाहना अनुसार स्वतन्त्र समूह, नेपाली काङ्ग्रेस हुँदै तमलोपामा प्रवेश गरे । तमलोपा विघटन भई राजपा गठन भएपछि त्यसमा लागे र राजपा पनि विघटन भएपछि लोसपामा आबद्ध भएका हुन् ।
मेयर पदको निर्वाचनको क्रममा उनीसँग भेट हुँदा गरिएको कुराकानीको केही अंश प्रस्तुत छ–
प्रश्न– मेयर पदमा नै चुनाव लड्ने विचार कसरी आयो ?
उत्तर– लामो समयदेखि राजनीतिमा लागें । विभिन्न राजनीतिक दलहरूमा क्रियाशील रहें । आफूभन्दा माथिल्ला नेताहरू माथि उक्लेपछि ठाउँ खाली भएकोले मेयर पदको उम्मेदवार बनेर अहिले चुनावी दौडधूपमा लागेको छु ।
प्रश्न– मेयर पद निकै कठिन छ, पैसा पनि त्यतिकै खर्च गर्नुपर्छ । एकैचोटी मेयर पदमा किन ?
उत्तर– म चारपटक वडाध्यक्ष भइसकें, अन्तरिमकालमा निर्वाचन हुँदा सर्वाधिक मतले उपमेयरको चुनाव पनि लडिसकेको हुँ । अब मैले ताक्ने त त्यसमाथिकै पद हो । अहिले हाम्रो पार्टीबाट त्यस पदमा लड्ने वरिष्ठता पनि मैले पाएको छु । हिजोसम्म मैले नेतृत्वप्रति जुन विश्वास र आस्था देखाएँ त्यसबाट पनि मेरो उम्मेदवारी पक्का भएको हो ।
प्रश्न– हाम्रो राजनीतिमा विश्वासको कुनै मूल्य छैन । पार्टी परिवर्तन, नेता परिवर्तन त दिनरात भइरहेको देखिन्छ । तपाईंले मात्र विश्वास गरेर त भएन, नेताहरूले पनि विश्वास गर्नुप¥यो । उनीहरूको पनि अडान ठोस हुनुप¥यो ?
उत्तर– हाम्रो पार्टी र नेतृत्वमा त्यस्तो विश्वासको सङ्कट छैन । उम्मेदवारी घोषणा गर्नु अघि मैले काठमाडौं गएर महन्त ठाकुरलाई भेटेको थिएँ, साथमा विमल श्रीवास्तव, रमेश पटेल, शशीकपूर मियाँ आदि थिए । विमल दाइले ठाकुरजी समक्ष हाम्रो पार्टीको मेयर पदका उम्मेदवार पुरूषोत्तम झालाई बनाउनुपर्छ भनेर प्रस्ताव गर्नुभयो । ठाकुरजीले पनि तपाईं भन्नुहुन्छ भने उहाँले नै टिकट पाउनुहुन्छ भन्नुभयो ।
प्रश्न– अहिलेको राजनीतिक माहौल निकै बिग्रेको छ । कुनै पनि पद पैसामा खरीद बिक्री हुन्छ । कोही कसैले पार्टीलाई राम्रो पैसा दिएर मेयर पदको उम्मेदवारी हात पार्न सक्छ । यसबारे तपाईंले के सोच्नुभएको छ ?
उत्तर– म त्यस्तो कल्पना पनि गर्न सक्दिनँ । महन्त ठाकुर आफैं इमानदार लामो राजनीतिक पृष्ठभूमि भएका र वचनका पक्का मानिस हुनुहुन्छ । यसै कारण उहाँ आजको राजनीतिमा पछि पनि पर्नुभएको छ । साथै विमल दाइहरू हुनुहुन्छ, जसका लागि मैले शुरू राजनीतिककालदेखि काम गरेको छु ।
प्रश्न– ठीक छ, कसैले पैसा खर्च गरेर तपाईंको पद नखोस्ला तर अहिलेको चुनाव त पैसाकै भरमा लडिन्छ र जितिन्छ, तपाईं त्यति खर्च गर्न सक्नुहुन्छ ?
उत्तर– हो, अहिले चुनावमा धेरै पैसा हुन्छ । तर धेरै पैसा खर्च उसले गर्छ, जोसँग हुन्छ । जो राजनीतिमा मुख्य द्वारबाट नभएर झ्यालबाट पसेको हुन्छ, उसले जित्ने पैसाकै बलमा हो । मैले लामो समयदेखि वीरगंजमा राजनीति गरेको छु । वीरगंजवासीको सुख–दुःखमा साथ रहेको छु । मसँग कसैले पैसा लिएर भोट दिने सोच्न पनि सक्दैन । फेरि म किसानको छोरा हुँ, मसँग भोट किन्ने पैसा छैन र भए पनि भोट किन्ने कुरा होइन, जित्ने कुरा हो भन्ने कुरामा विश्वास राख्दछु । मैले मतदाताको मन जितेर भोट पाउने हो । मलाई विश्वास छ मैले मतदाताको मत जितेको छु ।
प्रश्न– यति अधिकारपूर्वक बोल्नुको अर्थ जातिवादी भोट पाउने आशाले त होइन ?
उत्तर– कदापि होइन, वीरगंज महानगरपालिकाभित्र मैथिल बाहुनहरूको सङ्ख्या ६ हजार र पश्चिमा बाहुनहरू ४ हजार मात्र छन् । त्यतिको भरमा चुनाव जित्ने कुरा कहाँबाट आउँछ ? फेरि सबै भोट मैले नै पाउँछु भन्ने पनि छैन । अधिकांश पाउँछु । किनकि चुनावमा नाता, रिश्ता, आफन्तहरूको पनि ठूलो भर हुन्छ । आफ्नै जातिको सुख–दुःख, मरण–हरण, बिहे, धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा अरूभन्दा बढी सहभागी हुने अवसर पनि मैले पाएको हुँदा त्यसमा दाबी गर्ने हक त छ नै । उपमेयरको चुनाव लड्दा १४, १५ १६ वडाबाट पनि मैले राम्रो भोट पाएको हुँ । त्यहाँ ब्राह्मणलगायत अन्य जात पनि छन् । तसर्थ राजनीति गर्ने मानिसलाई इष्टमित्रको ठूलो भर हुन्छ साथै आफूले गरेको कार्यले व्यक्तिलाई जातिभन्दा माथि उठाइदिन्छ ।
प्रश्न– १४, १५, १६ वडाले मात्र समग्र महानगरपालिकाको चुनाव जितिन्छ त ?
उत्तर– होइन, त्यो त विगतको कुरा गरेको । अहिले क्षेत्र बढेको छ भने हितैषी, शुभचिन्तकहरू पनि बढेका छन् । लक्षमणवादेखि सुगौली, विन्दवासिनी, खल्वा टोला सबै ठाउँमा पार्टीका नेता कार्यकर्ता तथा पुराना मित्रहरूले सहयोगको आश्वासन दिएका छन् । फेरि मैले आफ्नो लामो राजनीतिक जीवनमा कुनै पनि प्रकारको आर्थिक वा अन्य अनियमितता गरेको छैन, कसैलाई हानि पु¥याएको छैन, दुःख दिएको छैन, परेको बेला सबैलाई सहयोग गरेकै छु भने मलाई परेको बेला साथ सहयोग नपाउने कुरै छैन ।
प्रश्न– चुनावी अभियान कुन किसिमले सञ्चालन गरिरहनुभएको छ ?
उत्तर– अहिले त पार्टी, साथीभाइहरूसँग छलफल चलिरहेको छ । चुनावी रणनीति तय गरिरहेका छौं, तपाईंसँग कुरा गर्दा गर्दै मिटिड्ढो लागि बोलावट आइसक्यो । मेरो छवि कसैसँग लुकेको छैन, मेरो कसैले परीक्षा लिनुपर्दैन । यस कारण म आफ्नो जीतप्रति ढुक्क छु ।