प्रस, वीरगंज, १० चैत/
अर्थमन्त्री जनार्दन शर्माले नेपालले उदारवादी अर्थतन्त्र अवलम्बन गरेको र उद्योग, व्यापारको विकासविना देशको विकास नहुने बताएका छन् ।
वीरगंज उद्योग वाणिज्य सङ्घको टोलीसँग काठमाडौंमा छलफल गर्दै मन्त्री शर्माले वीउवासङ्घको सुझावलाई गम्भीरतापूर्वक लिएको बताए ।
उनले आफू उद्योग–व्यवसायको संवद्र्धन र विकासको विरोधी नभएको बताउँदै त्यसको पक्षपोषकको रूपमा रहेकोले उद्योग/व्यवसायको विकासको लागि तदारूकता साथ लागिपरेको बताए । उनले कर, राजस्व, भन्सारलगायत नीतिगत एवं व्यावहारिक समस्याहरूलाई सहज तुल्याउन विभागीय प्रमुखहरूलाई निर्देशन दिने आश्वासन दिए । उनले सिमरास्थित सेज स्थापनाको लागि छुट्याइएको जग्गामा उद्योग स्थापनाको लागि लचिलो नीति अवलम्बन गर्ने बताए ।
कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले विभिन्न सुझाव तथा समस्याबारे अर्थमन्त्रीलाई अवगत गराएका थिए ।
छलफल कार्यक्रममा वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले आत्मनिर्भर उद्योगहरूको संरक्षण, संवद्र्धन र विकासको लागि अपनाउनुपर्ने नीतिगत र व्यावहारिक प्रावधानबारे प्रस्ट पारेका थिए ।
उपाध्यक्ष हरि गौतमले पर्सा र बारा क्षेत्रमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए भने अर्का उपाध्यक्ष माधव राजपालले वीरगंज–ठोरी–चितवन हुलाकी सडक र द्रुत मार्गको लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग गरे ।
टोलीमा वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल, सुनीलकुमार खेतान, सुमन क्याल, नरेश टिबडेवाल, अङ्कित खेतान, राजेन्द्र गुप्तालगायतको सहभागिता थियो ।