पर्सा जिल्लाको सुदूर पश्चिमस्थित ठोरीलाई मधेस प्रदेश सरकार पर्यटकीय क्ष्Fेत्र घोषणा गर्ने तयारीमा छ । ठोरी हिजो जति विकट थियो, आज रहेन । हुलाकी सडक निर्माणसँगै अब सदरमुकाम वीरगंजबाट ठोरी सुगम स्थल बन्न पुगेको छ । डाँडा, जङ्गल, नदीले भरिएको यो स्थान प्राकृतिकरूपमैं सुन्दर छ । त्यसैले भारतको भिखना ठोरीसम्म भारतीय रेल र सडकको सहज पहुँच रहेकोले भारतीयहरू प्रायः बिदा मनाउन पहिलेदेखि नै यहाँ आउने गरेका थिए । उनीहरूकै आकर्षणका लागि स्थानीय तहबाट यहाँ केही सामान्य संरचना निर्माण भए । ठोरी भारतीयहरूको रोजाइमा परेको थियो, तर त्यो एक दिनको रमझममा सीमित थियो । पर्यटन भनेको बिहान आएर बेलुका फर्कने रमिता होइन । त्यस क्षेत्रमा आएर एकदुई दिन होइन, हस्तासम्म बस्नुलाई पर्यटन मानिन्छ । अहिले पनि थोरै सेवा क्षेत्र विस्तार गर्न सक्ने हो भने पर्यटकलाई दुई–तीन दिन रोक्न सक्ने क्षमता यस क्षेत्रमा विद्यमान छ । ठोरीको अनौठो भूसंरचनाका साथै सेतो पहाड, झोलुङ्गे पुलले पनि भारतीयहरूलाई आकर्षित गर्ने गर्दछ ।
अहिले त बाटोको सुविधाले गर्दा आन्तरिक पर्यटन पनि निकै बढेको छ । खासगरी नयाँ वर्ष, बिदा मनाउन वीरगंजसम्मबाट मानिसहरू ठोरी पुग्ने गरेका छन् । यद्यपि बितेका दिनमा केही होमस्टेहरू पनि खुले तर एक दिने रमझम गर्ने व्यक्तिलाई त्यसले खासै आकर्षित गर्न सकेन । ठोरीदेखि भाठास्थित दुग्धेश्वर महादेव मन्दिरसम्म सहज र सरल पहुँच बनाउन सक्ने हो भने ठोरीमा रमझम गर्नेहरू यस भेगमा (नेपाल–भारत दुवै) निकै प्रसिद्ध मानिने दुग्धेश्वर महादेवको दर्शन गर्ने लोभ पक्कै त्याग्ने छैनन् । ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुभन्दा पनि यहाँ खानेबस्ने र यातायातको सुविधा पु¥याउने आवश्यकता छ । किनकि यो क्षेत्र यसै पनि स्वघोषित पर्यटकीय स्थल हो । एक दुई वर्षदेखि नेपाली पर्यटकको रोजाइमा पर्न थालेको भए पनि यातायातको सुविधाले गर्दा त्यस भेगका लाखौं भारतीयको रोजाइमा यो ठाउँ वर्षौंदेखि परेको छ । यसै कुरालाई मध्यनजर गर्दै ठोरी पालिकाको पहलमा केही वर्ष पहिले हात्ती यातायातको व्यवस्था गरिएको थियो । तर अन्यान्य सुविधाको अभावमा यो पनि एक दिने रमितामा सीमित छ । हात्ती यातायात र होमस्टे पर्याप्त प्रचारको अभावमा उपादेय बन्न सकेका छैनन् ।
ठोरीको सबैभन्दा महŒवपूर्ण भूमिका यसको भौगोलिक अवस्थिति हो । यद्यपि हुलाकी राजमार्ग वीरगंजदेखि ठोरीसम्म सञ्चालन भइसकेको छ, तर ठोरीबाट माडी हुँदै भरतपुर छिचोल्न मध्यवर्ती क्षेत्रको जङ्गलको केही भागले बाधा पु¥याइरहेको छ । केही किलोमिटर मात्र यो भाग कालोपत्रे हुन सके वीरगंजबाट नारायणघाट पुग्ने दूरी कम हुन्छ, साथै आफ्नो साधनबाट काठमाडौं वा पोखरा जान चाहने त्यस भेगका र पश्चिम भारतका मानिसहरूको यो सहज गन्तव्य बन्न सक्दछ । यति मात्रले, सरकारले व्यवस्था गरिदिनेभन्दा पहिले नै, निजी क्षेत्रबाट यहाँ होटलहरू बन्न शुरू हुनेछ । हुलाकी राजमार्गले ठोरी छिचोल्ने सुविधा पायो र दुईचारवटा मात्र गतिलो होटल बन्न सक्यो भने ठोरीको विकासले सहजै फडको मार्न थाल्छ । यहाँको पर्यटन पनि घनीभूत हुन थाल्छ । सरकारले आफैं अघि सरेर विकास–निर्माण गर्नुभन्दा पनि विकास–निर्माणका लागि पूर्वाधारको जगेर्ना गरिदिनुपर्छ अनि कुनै पनि स्थानविशेष स्वस्फूर्त गतिशील बन्छ । सरकार हुलाकी सडक नारायणघाटसम्म कुदाइदेऊ, ठोरी आपसेआप पर्यटकीय क्षेत्र
बन्छ ।