प्रस, जीतपुर, ८ चैत/
जगदम्बा जीतपुरसिमरा गोल्डकपको १२औं संस्करणको तयारी पूरा भएको छ । आयोजक नवजनजागृति युवा क्लबले सिमरामा पत्रकार सम्मेलन गर्दै चैत १० गतेदेखि शुरू हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको छ ।
‘ए’ डिभिजनका पाँचसहित प्रतियोगितामा १० वटा टीमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले बताए । उनले प्रतियोगितामा साबिक विजेता सङ्कटा, एनआरटी, हिमालयन शेर्पा, फ्रेन्ड्स, एपिएफ एफसी, सुदूरपश्चिम–११, बिएफसी चितवन, विजय युथ हेटौंडा, वाग्मती युवा र आयोजक नवजनजागृति युवा क्लब सहभागी हुने अध्यक्ष लामाले जानकारी गराए । प्रतियोगिताको उद्घाटन खेल फ्रेन्ड्स क्लब र सुदूरपश्चिम–११ बीच हुने उनले बताए । फ्लड लाइटमा हुने डे–नाइट प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रूपैयाँ प्राप्त गर्नेछ । आयोजकले यस वर्ष प्रथम पुरस्कार राशिमा तीन लाख र द्वितीय पुरस्कारमा एक लाख पचास हजार रूपैयाँ वृद्धि गरेको छ । ११औं संस्करणमा प्रथम पुरस्कार सात लाख र द्वितीय पुरस्कार तीन लाख पचास हजार थियो ।
चैत १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल वा स्कूटर प्राप्त गर्ने अध्यक्ष लामाले बताए । यसैगरी, प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगद प्राप्त गर्ने उनले बताए । आयोजकले यस वर्ष पनि उदीयमान स्थानीय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गर्ने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टीलको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको लागत करीब रू ८३ लाख अनुमान गरिएको अध्यक्ष लामाले बताए । १०औं संस्करणसम्म सिमरा गोल्डकपको नामबाट सञ्चालित प्रतियोगिता पछिल्लो ११औं संस्करणबाट जीतपुरसिमराको नाममा रूपान्तरित भएको हो । १२औं संस्करण जगदम्बा स्टीलले मुख्य प्रायोजन गर्ने भएको छ । पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष लामा र जगदम्बा स्टीलका कर्पोरेट भाइस प्रेसिडेन्ट कृष्णदत्त भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । अखिल नेपाल फूटबल सङ्घ (एन्फा) प्रतियोगिता सहयोगीको रूपमा रहेको प्रतियोगिताको प्रोमोटरमा नेपाल पर्यटन बोर्ड छ । प्रतियोगिता अवधिभरका लागि वीरगंजस्थित लुम्बिनी जनरल इन्स्योरेन्सले खेलाडी, अफिसियल, स्वयंसेवक, पत्रकारलाई १० लाख र १३० जना दर्शकलाई पाँच लाखको बीमा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा जगदम्बा स्टीलका प्रशासन शाखा प्रमुख गोविन्द गँुरागाईं, क्लबका पूर्वअध्यक्ष राजकुमारलगायतको सहभागिता थियो ।