टोकियो, ८ चैत (रासस/सिन्ह्वा
जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिडजन्य प्रतिबन्धहरू १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ ।
जापानमा पछिल्लो समय कोभिड सङ्क्रमण बढ्दै गएपछि यसविरूद्ध पालना गर्नुपर्ने मापदण्डका रूपमा प्रतिबन्धहरू लगाइएको थियो ।
जापान सरकारले ४७ प्रिफेक्चरमध्ये १८ वटाका यस्ता प्रतिबन्ध हटाएको जनाएको समाचारमा बताइएको छ । यसरी प्रतिबन्ध हटाइएका प्रिफेक्चरहरूमा टोकियो र ओसाका पनि रहेका छन् । यहाँ गएको जनवरी ८ देखि यस्ता प्रतिबन्ध लगाइएको थियो । आज मङ्गलवारदेखि यहाँका अधिकारीहरूले १८ प्रिफेक्चरमा यस्ता प्रतिबन्ध हटाएको जनाएका हुन् ।
यहाँका नागरिकलाई सार्वजनिक स्थलमा थोरै सङ्ख्यामा जम्मा हुन तथा सीमित ग्राहकसहित होटल रेस्टुराहरू सञ्चालन गर्न दिइएको थियो । अहिले ती सबै प्रतिबन्ध हटाइएको छ । यहाँ अब नागरिकहरू ठूलो सङ्ख्यामा जम्मा हुने र आफ्ना व्यवसाय सञ्चालन गर्न पाउने भएका छन् ।
बाँकी प्रिफेक्चरहरूमा भने कोभिड १९ को सङ्क्रमण कायमै रहेकोले अहिले प्रतिबन्ध कायम राखिएको छ । केही दिनसम्म सङ्क्रमणको अवस्था हेरेर मात्र ती स्थानमा पनि प्रतिबन्धहरू हटाउन सकिने सरकारले जनाएको छ । रासस