प्रस, वीरगंज, ७ चैत/

जनता समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले वर्तमान निर्वाचन प्रणालीमा परिवर्तन गरिनुपर्ने माग गरेका छन् ।

जसपा, पर्साले नगर सभागृहमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले विद्यमान निर्वाचन प्रणालीका कारण सर्वसाधारणको पहुँच राजनीतिबाट खस्कँदै गएको र मालदार मानिसहरूको प्रवेश बढिरहेको बताए ।

उनले निर्वाचन प्रणाली महँगो भएको कारण अहिलेको निर्वाचनमा सर्वसाधारणको राजनीति गर्ने स्थान पातलिंदै गएको र नवधनाढ्यहरूको प्रवेश बढिरहेको बताए । उनले निर्वाचनमा विकृति बढ्नुको प्रमुख कारण विद्यमान निर्वाचन प्रणाली रहेको आरोप लगाउँदै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गरे । उनले मधेस आन्दोलन सबै उत्पीडितहरूको लागि भएको र त्यसको उद्गमस्थल रहेको वीरगंजलाई नै राजधानी बनाइनुपर्ने आफ्नो अडान रहे पनि प्रदेशसभा सदस्यहरूको चाहनाका कारण जनकपुर घोषित भएको जिकिर गरे । उनले प्रदेशको नामकरण मधेस गरिएकोमा सन्तोष व्यक्त गर्दै अन्य प्रदेशभन्दा मधेस प्रदेशले आफ्नो पहिचान बनाएको दाबी गरे ।

उनले लोकतन्त्र खतरामा परेको कारण लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धनको सरकार बनेको प्रष्ट्याए । अध्यक्ष यादवले आगामी स्थानीय चुनाव सम्भव भएसम्म गठबन्धन मिलेर लड्ने अन्यथा एक्लै पनि चुनाव लड्ने बताए । उनले विगतमा पनि एक्लै चुनाव लडेर जसपाले आफ्नो तागत देखाएको बताए । जसपाबाट अलग्गिएको राजपासँग पनि गठबन्धन हुन सक्ने उनले बताए ।

जसपा सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमा अहिले पनि राजनीतिमा एकल जातीय वर्चस्व रहेको र सोही कारणबाट दलित आदिवासी अधिकारबाट वञ्चित हुनुपरेको बताए ।

उनले नेपालमा नामको मात्र सङ्घीयता भएकोले अहिलेसम्म सबै प्रदेशले चाहिने जति विकास गर्न नसकेको बताए ।

उनले पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले ठूलाठूला भाषण मात्र गर्ने तर काम भने नगरेका कारण भ्रष्टाचार व्यापक भएको आरोप लगाए । राज्य प्रणालीबाट नै भ्रष्टाचार बढेको र यसमा शीर्ष नेताहरू जिम्मेवार रहेको पूर्वप्रम भट्टराईको भनाइ थियो ।

पूर्वप्रम भट्टराईले नेपालको उत्तर र दक्षिणमा ठूल्ठूला मुलुक रहेकाले नेपालले दुवै मुलुकसँग बराबरीको व्यवहार बनाउनुपर्ने सुझाए । रूस–युक्रेन युद्धबारे प्रस्ट पार्दै कुनै बेला रूसको एक अङ्गको रूपमा रहेको युक्रेनले रूसको कुरा नमान्दा तथा रूसको पक्षमा नउभिंदा रूसले आक्रमण गरेको बताए ।

जसपा, पर्साका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका राष्ट्रिय अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दी, जसपा पार्टी प्रवेश गरेका राजेशमान सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सांसद प्रदीप यादवले स्वागत गर्दै मधेस आन्दोलनका दुईजना योद्धा एकै पार्टीमा समाहित भएकामा खुशी व्यक्त गर्दै आगामी स्थानीय चुनावमा जीत हासिल हुने विश्वास व्यक्त
गरे ।

धर्मेन्द्र चौरसिया, पोखरिया/

जसपाको पोखरियामा पनि सभा सम्पन्न भएको छ ।

सभामा अध्यक्ष उपेन्द्र यादवले नेपालमा भएका आन्दोलनबाट सत्ता मात्रै परिवर्तन भएको तर २०६२/६३ को मधेस आन्दोलनले सत्तासँगै शासनप्रणालीमा परिवर्तन ल्याएको र नेपाल सङ्घीय गणतान्त्रिक मुलुक घोषणा भएको बताए । उनले तत्कालीन अवस्थामा काङ्ग्रेस र एमाले पनि सङ्घीय गणतन्त्रको पक्षधर नभएको बताउँदै मधेसीको रगतबाट लेखिएको संविधान विश्वकै उत्कृष्ट भन्नेहरू अहिले सोही संविधानको आलोचना गरिरहेको बताए । उनले नेपालमा अहिलेसम्म पाँच वर्ष शासनसत्तामा कुनै पनि पार्टी बस्न नसकेको भन्दै निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने माग गरे । प्रत्यक्ष निर्वाचन प्रणालीबाट राष्ट्रपतिसमेतको निर्वाचन हुनुपर्ने उनले जिकिर गरे ।

क्षेत्रीय अध्यक्ष्F नागेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री लालबाबू राउत गद्दी, सांसद प्रदीप यादव, पर्सा अध्यक्ष रामनरेश यादव, प्रदेशसभा सदस्य मञ्जुर अन्सारी, सिंहासन साह, राजु साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उपप्रमुख सलमा खातुनले स्वागत र शिवसाह तेलीले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here