धर्मेन्द्र चौरसिया, पोखरिया, ६ चैत/

पोखरिया नगरपालिकाको निर्वाचनको लागि सरगर्मी बढेको छ । नेपाल जनता दलबाट चुनाव जितेका नगरप्रमुख दीपनारायण रौनियार बदलिंदो राजनीति परिवेशमा नेपाली काङ्ग्रेसमा प्रवेश गरिसकेका छन् भने सोही पार्टीबाट उम्मेदवार हुने अडकल लगाइएको छ ।

नेकाबाट यसअघिका पराजित उम्मेदवार रामेश्वर रौनियारको पनि सो पदमा दाबेदारी छ । दुईजनामध्ये कसले टिकट पाउने भन्ने निधो लागेको छैन । दुवैजना चुनावी तयारीमा छन् । जनता समाजवादी पार्टीबाट राजु साहको दाबेदारी हुने देखिएको छ । उनी अहिले जसपा प्रवेश गर्ने र पोखरिया नगरपालिकाको प्रमुखको टिकट हात पार्ने दाउमा छन् ।

सम्भवतः सोमवार जसपामा प्रवेश गर्ने साहको तयारी छ । जसपाबाट उपप्रमुखमा वर्तमान उपप्रमुख सलमा खातुनको नाम चर्चामा छ । गत चुनावमा उनी मधेसी जनअधिकार फोरम नेपालबाट निर्वाचित भएकी थिइन् ।

नेकपा एमालेबाट गत स्थानीय चुनावमा पराजित प्रद्युम्न चौहान उम्मेदवार हुने चर्चा छ भने तत्कालीन राजपाबाट पराजित नेजामुद्दीन समानी लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवारी दिने चर्चा छ ।

अहिले नगरप्रमुखका दाबेदारहरू आआफ्नो तरीकाबाट मत माग्दैछन् । पोखरिया नगरपालिकाको प्रमुखको लागि लोसपाका समानी र उपप्रमुखको दाबेदार आशादेवीले एक महीनाअगाडिदेखि घरदैंलो कार्यक्रम गर्दै आएका छन् ।

नेपाल सुशासन पार्टीबाट नगरप्रमुखमा शङ्कर यादव र उपप्रमुखमा वीणादेवीको नाम चर्चामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here