लन्डन, ६ चैत/एएनआई/ स्पुतनिक

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रूसको विशेष सैन्य कारबाईका बीच राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका छन् ।

जोनसनले सन्डे टाइम्सलाई बताए अनुसार जेलेन्स्कीसँग नियमित कुराकानी हुन्छ र उनी एक ‘निक्कै आकर्षक व्यक्तित्व र  प्रेरणाको स्रोत पनि साबित भएका छन्’ ।

बेलायती प्रधानमन्त्रीका अनुसार जेलेन्स्की र उनको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको थियो, तर ‘भोलोडिमिर सधैं स्पष्ट रहेका छन्, उनको कर्तव्य युक्रेनी जनताप्रति हो, उनी त्यहीं बस्नेछन् र जनताको हेरचाह गर्नेछन् । म उनको प्रशंसा गर्छु’ ।

डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डिपिआर र एलपिआर) ले युक्रेनविरुद्ध आफूलाई बचाउन मदतको लागि अपील गरेपछि  गत फेबु्रअरी  २४ मा रूसले युक्रेनमा विशेष सैन्य कारबाई शुरू गरेको हो ।

यता रूसले भने विशेष अपरेशनको उद्देश्य युक्रेनको असैन्यीकरण र ‘डिनाजिफाइ’ गर्नु हो र केवल सैन्य पूर्वाधारलाई लक्षित गरिएको छ – नागरिक जनसङ्ख्या खतरामा छैन भनेको छ । मस्कोले बारम्बार जोड दिंदै भनेको छ उसको युक्रेन कब्जा गर्ने कुनै योजना छैन ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार डोनबासका जनतालाई जोगाउने लक्ष्य रहेको छ, जो आठ वर्षदेखि कीभ शासनद्वारा दुव्र्यवहार र नरसंहारको शिकार भएका छन् ।

रूसको अपरेशनको प्रतिक्रियामा, पश्चिमी देशहरूले मस्कोविरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् जसमा धेरै रूसी अधिकारी र संस्था, मिडिया, र वित्तीय संस्थाहरूलाई लक्षित गर्ने हवाई क्षेत्र बन्द र प्रतिबन्धात्मक उपायहरू समावेश छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here