प्रस, परवानीपुर, २ चैत/
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता तथा मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले आगामी दिनमा मधेसको मुद्दा राज्यसँग सम्बोधन गराउने जिम्मेवारी लोसपाको काँधमा आएको बताए ।
लोसपा परवानीपुर गापा समितिद्वारा बाराको परवानीपुर गापा–४ चैनपुरमा आयोजित होली मिलन समारोहमा उनले मधेसको वकालत गर्ने दाबी गर्दै आएको जनता समाजवादी पार्टी नेपाली काङ्ग्रेसको गठबन्धनमा विलय भएको भन्दै आगामी दिनमा मधेस प्रदेश तथा मधेस राजनीतिलाई अघि बढाउँदै मधेसका पूरा नभएका मागहरूलाई राज्यसँग सम्बोधन गराउने दिशामा लोसपा अझै सशक्त भएर अघि बढ्ने उनले बताए ।
लोसपा परवानीपुर गापा समितिका अध्यक्ष जगतनारायण महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोसपा बारा क्षेत्र नं ४ का सङ्घीय सांसद एकबाल मियाँ, परवानीपुर गापाका अध्यक्ष हरिनारायण साह, उपाध्यक्ष सावित्रीदेवी कुर्मीन, स्थानीय नेता गम्भीरा पटेल, राजदेव पटेल, आत्माराम साह, परवानीपुर गापा–३ का अध्यक्ष अनिल राम, महेन्द्र यादव, सिकेन्द्र साहलगायत सहभागी रहेको लोसपाका युवा नेता रमेश सर्राफले जानकारी गराए ।