काठमाडौं, २ चैत/रासस
आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई दुई विकेटले पराजित गरेको छ ।
युनाइटेड अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट मैदानमा बुधवार भएको खेलमा पपुवा न्यूगिनीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९ दशमलव २ ओभरमा आठ विकेट गुमाएर पूरा ग¥यो ।
नेपालका लागि रोहितकुमार पौडेल र आरिफ शेखले अर्धशतकीय पारी खेले । पौडेलले ५८ तथा शेखले ५३ रनको योगदान दिए ।
त्यसैगरी, करण केसीले २९, आशिफ शेखले १६, विनोद भण्डारीले ११, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान आठ/आठ, ज्ञानेन्द्र मल्लले चार तथा कुशल भुर्तेलले एक रन बनाए । बलिङतर्फ पपुवा न्यूगिनीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले समान दुई/दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै पपुवा न्यूगिनीले ५० ओभरमा आठ विकेट गुमाएर २०४ रन बनाएको थियो । चाल्र्स अमिनीले ५९ रनको अर्धशतकीय पारी खेले । यस्तै, टोनी उराले २७, लेगा सियकाले २५, चाद सोपरले ३५, नोरमान भानुले २३ र असद भालाले १९ रन बनाए ।
बलिङतर्फ नेपालका सोमपाल कामीले तीन तथा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले एक/एक विकेट लिए । नेपालले दोस्रो खेल शुक्रवार युएईसँग खेल्नेछ । लिग दुईमा नेपालसहित सात देश सहभागी छन् । नेपाल नौ खेलमा पाँचमा जीत तथा चारमा हारका साथ १० अङ्कसहित छैटौं स्थानमा छ । पपुवा न्यूगिनी हालसम्म जीतविहीन अवस्थामा छ । उसले हालसम्म खेलेका १४ वटै खेलमा पराजय बेहोरेको छ ।