फागु (होली) पर्व विशेषतः नेपाल र भारतमा बसोवास गर्ने हिन्दूहरूको प्रमुख एवं प्राचीन पर्व हो । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि हुरू हुने होली पर्वको मुख्य दिन फागु पूर्णिमा र पूर्णिमाको भोलिपल्टलाई मानिन्छ । यस वर्ष चैत ३ गते बिहीवार फागु पूर्णिमा परेको छ । काठमाडौ उपत्यकालगायत पहाडी भेगमा पूर्णिमाको दिन होली खेलेर पर्व मनाइन्छ भने मधेस प्रदेशलगायत तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट चैत ४ गते शुक्रवार फागु पर्व मनाइन्छ । रङहरूको पर्व होली असत्यमाथि सत्यको जीत, निष्ठा र आत्मीयताको प्रतीकको रूपमा मानिन्छ । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेतायुगसँग जोडिएको छ । त्रेतायुगमा भगवान् विष्णुका परमभक्त प्रह्लादसँग यस चाडलाई जोडेर हेरिन्छ । हिरण्यकशिपूका पुत्र प्रह्लादलाई उनकी फुपू होलिकाले दाजु हिरण्यकशिपूको योजना अनुसार जालझेल, छल, कपटपूर्ण तरीकाले आगोमा भष्म पार्न लाग्दा प्रह्लाद सकुशल रहेका तर होलिका आफैं आगोमा भष्म भएकी थिइन् । असत्य पक्षधर होलिका दहन भएको दिनको सम्झनामा होली पर्व मनाउन शुरू भएको मान्यता छ । यो पर्वपछि वसन्त ऋतुको आगमन हुने हुँदा प्रकृति सूचकको रूपमा पनि यस पर्वको विशेष महŒव छ ।

फागु पर्व प्राचीनकालमा एक दिन मात्रै मनाइने गरेको उल्लेख छ । हाम्रो मुलुकमा पनि एक दिन मात्रै मनाइने गरिन्थ्यो । भूभाग अुनसार दिन भने फरक थियो । जबसम्म एक भूभागकाले अर्को भूभागमा रहेकाहरूको संस्कृतिलाई बुझ्न पाएका थिएनन्, तबसम्म फरक दिनमा मनाउँथे । सङ्घीय लोकतान्त्रिक गणतन्त्रतर्फ मुलुक अगाडि बढिसकेपछि एक समुदाय वा भूभागको धर्म, संस्कृति, परम्पराबारे अर्का क्षेत्रकाले पनि जानकारी लिने, चासो राख्ने, अध्ययन, अनुसन्धान गर्ने र अनुसरण गर्ने प्रक्रिया शुरू भएको छ । पहाडको फागुबारे मधेसकाले थाहा पाएका र मधेसको फागुबारे पहाडकाले जानकारी पाएपछि केही वर्षयतादेखि दुवै दिन पर्व मनाउन थालिएको हो । हाल नयाँ पुस्ताकाहरू अधिकांशले दुवैतर्फ दुवै दिन पर्व मनाउने गरेका छन् । फरक दिनमा मनाइने यसको सांस्कृतिक वा धार्मिक महŒव तथा तर्क आफ्नै ठाउँमा छन् । नेपालमा मात्रै होइन कि मुलुकभन्दा बाहिर रोजगार, अध्ययन वा व्यापार–व्यवसायको क्रममा पुगेका नेपालीहरूले दुई दिनसम्म होली पर्व मनाइरहेका छन् । मुलुक छोडेर बाहिर गएपछि त्यहाँ भेट हुने ‘को मधेसी, को पहाडी, सबै नेपाली’ भन्ने भावका साथ आत्मीयता साटासाट गर्ने पर्वको रूपमा विकसित हुँदैछ ।

चाडपर्व, संस्कृति तथा परम्परा मानवको पहिचान हो । पर्व मनाउने क्रममा आधुनिकतासँगै विकृतिहरू भित्रिने र परम्परागत मौलिकतालाई मेट्ने क्रम पनि बढिरहेको छ । तराई–मधेसकै कुरा गर्दा होलीमा गाइने मौलिक गीत ‘जोगिरा सररर’ लोप हुँदै गएको छ । फागु आउनु १५ दिनअघिदेखि गुञ्जिने यो फागु विशेष गीत अहिले सुनिन छोडिएको छ ।  त्यसैगरी, यस पर्वमा रौनकता ल्याउने लोकबाजाहरू आजभोलि बज्दैन । अबीरको ठाउँमा लोला हान्ने, फोहोर छ्याप्ने, रिसइबी साध्ने पनि गरिएको पाइन्छ । तडकभडक र देखासिखीमा प्रतिस्पर्धा चलेको छ । सारा विकृतिलाई नामेट पार्दै समाज तथा मुलुकमा सत्य, न्याय, एकता र आत्मीयता कायम राख्न साथै मौलिक संस्कृतिको रक्षा गर्दै अग्रसर हुन  फागु पर्वले सबैलाई प्रेरणा देओस् शुभकामना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here