प्रस, परवानीपुर, १ चैत/
करीब तीन सातादेखि चलिरहेको रूस–युक्रेन युद्धको असर नेपालको व्यापारमा एक महीनापछि पर्ने वीरगंज भन्सारका अधिकारीहरूले बताएका छन् ।
युक्रेन र रूसबाट विशेषगरी सूर्यमुखी, भटमास, पामका कच्चा तेल (क्रुड आयल) मात्र आयात हुने भएकाले अहिले खासै केही असर नपरेको वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहका भन्सार अधिकृत गोपाल भण्डारीले बताए । “अहिले खासै असर परेको छैन, पहिलेका अर्डरहरू आइरहेका छन् । तर नयाँ अर्डरहरूका लागि समस्या हुन सक्छ । अर्डर दिइसकेपछि नेपाल आउन करीब डेढ/दुई महीना समय लाग्छ,” उनले भने ।
त्यसैगरी, युक्रेनबाट तोरीको गेडा पनि आउने गरेकोले नेपाली बजारमा खानेतेलको मूल्य आगामी दिनमा आकाशिने व्यवसायीहरूको प्रक्षेपण छ । नेपाली व्यवसायीहरूका अनुसार नेपालमा रूस–युक्रेन युद्ध लामो समयसम्म चलिरह्यो भने खानेतेलको मूल्य लिटरमा ३५० रुपैयाँसम्म पुग्न सक्ने उनीहरूको भनाइ छ ।
सो युद्धका कारण अहिले नेपाल सरकारले भारतमा प्रशोधित तेल निर्यातमा नियन्त्रण गरी स्वदेशमा खपतको लागि भण्डारण गर्नुपर्ने नीति बनाइरहेको वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं नेपाल चामल दाल सङ्घका राष्ट्रिय अध्यक्ष सुबोध गुप्ताले बताए ।
बारा, पर्सा कोरिडोरसँगै नेपालभरि करीब तीन दर्जन खानेतेल उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । विगत दुई वर्षदेखि भारत निकासी गरी मालामाल भएका तेल उद्योगहरूले पछिल्लो समय आफ्नो क्षमता पनि विस्तार गरेका थिए ।
भारत निकासी हुने प्रशोधित तेलको परिमाण घट्यो
पर्सा, बारा कोरिडोरमा उत्पादित प्रशोधित तेल भारतमा निकासी हुने परिमाण दिन प्रतिदिन घट्दै छ ।
फागुनको अन्त्यसम्म वीरगंज नाकाबाट दैनिक ३५–४० वटा तेल लोड गाडी गइरहेको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । उनका अनुसार दुई महीना अगाडि वीरगंज नाकाबाट दैनिक ८० भन्दा बढी गाडी प्रशोधित तेल लिएर भारत निकासी हुन्थ्यो भने अहिले आधा घटेको छ । एउटा गाडीमा २३ देखि २७ टन तेल निकासी हुन्छ ।
तेलको निकासी पछिल्लो समय कम हुनुको कारणमा भारत सरकारले कच्चा तेल आयातमा घटाएको भन्सार महसूल हो । दुई महीनाअगाडि कच्चा तेल आयातमा चालीस प्रतिशतभन्दा बढी भन्सार महसूल राखेको भारतले गत डिसेम्बरको अन्त्यदेखि भन्सार महसूललाई साढे पाँच प्रतिशतमा झारेपछि अहिले भारतकै व्यवसायीहरूले सस्तो मूल्यमा मलेशिया र थाइल्यान्डबाट कच्चा तेल आयात गरी प्रशोधन गरिरहेका छन् ।
भारतमैं उत्पादन हुने प्रशोधित तेल नेपालको तेलभन्दा सस्तो पर्ने भएकोले भारत निकासी कम हुँदै गएको व्यवसायीहरूको भनाइ छ । रूँगटा समूहको ओसिभी फूड एन्ड फिड्स प्रालिका सञ्चालक सुरेश रूँगटाका अनुसार भारतमा भन्सार महसूल कटौतीका कारण अहिले नेपाली व्यवसायीले करोडौं रुपैयाँ घाटा सहेर सस्तोमा भारततर्फ तेल निकासी गरिरहेको बताए । उनले लिटरमा पहिलेभन्दा रु २० कम गरेर तेल निकासी गर्नुपरिरहेको बताए ।